माओवादीमा मन्त्री हेरफेर गर्ने आवाज

नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाजहरु उठिरहेको बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरुलाई फेर्नुपर्ने आवाज उठिरहेको बताएका हुन् ।
उनले नेकपा(एकीकृत समाजवादी)ले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरु फेर्न दबाब परेको बताए । उनले मन्त्री फेर्ने बारे पार्टीभित्र कुनै छलफल भने नभएको स्पष्ट पारे । उनले भने, ‘हाम्रोमा अहिलेसम्म कुनै छलफल भएको छैन । समाजवादीका साथीहरुले पूरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ । कांग्रेसमा पनि दबाब छ । जसपामा दबाब छ । यो दबाबलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन । हाम्रो अझै छलफल सुरु भएको छैन । अहिले फेर्नुपर्छ कि भन्नेखालका आवाजहरु उठिरहेको छ ।’
त्यसैगरी सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले संसदमा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने बताए । उनले अहिले मन्त्री परिषद् हेरफेर गर्नु संयुक्त सरकारको सोचसँग मेल नखाने पनि उल्लेख गरे । उनले भने – ‘सरकारमा फेरबदल नै गर्नुपर्ने भएपनि, पहिलो त संयुक्त सरकार हो यो । संयन्त्र छ । आचारसंहिताहरु छन् । मन्त्रालयको छलफल प्रारम्भ गर्ने अनि मन्त्रीहरु बदल्छु भनेर कहीँ मिल्छ त्यो ? त्यो संयुक्त सरकारको सोचसँग मेल खाएन । अहिले पछिल्लो बेलामा शिर्ष नेताहरु बसिसकेर अहिले बाहिर सार्वजनिक पनि भइसकेको छ, त्यो नमिल्ने कुरा उहाँहरुले सच्याउनुभएको छ ।’
उनले गठबन्धनका शिर्ष नेताहरु बसेर मन्त्री हेरफेर गर्ने निर्णय सच्याइसकेको बताए ।