‘फोहोर व्यवस्थापनको दिगो समाधान खोजौं’

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधानमा चुनौती थपिएको छ । सिसडोल र बञ्चरेडाडाँका स्थानीयसँगको पटक पटकको विवादका कारण फोहोर व्यवस्थापनमा समस्या देखिएको हो ।
सहरी विकास मन्त्रालयले सिसडोल र बञ्चरेडाडाँका जनप्रतिनिधिसमेतलाई राखेर सोमबार राति सम्झौता गरे पनि स्थानीय बासिन्दाले मंगलबार पनि अवरोध गरेका थिए । स्थानीय बासिन्दाको अवरोधका बीच प्रहरी परिचालन गर्दै फोहोर फालिएको छ । तर यो दिगो समाधान नभएको भन्दै फोहोर व्यवस्थापनको दिगो समाधान खोज्न आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।
बञ्चरेडाँडाका स्थानीय बासिन्दाले विरोध गरेपछि सरकारले मंगलबार प्रहरी बल प्रयोग गरेर काठमाडौंको फोहोर खसाल्न सुरु गरेको छ । फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको हो । उनीहरूले सिसडोल र बञ्चरे बीचमा रहेको आलेटारमा धर्ना दिएका थिए
सम्झौतापछि मंगलबारबाट काठमाडौंको फोहोर उठ्ने र बञ्चरेडाँडाको डम्पिङ साइटमा विसर्जन गर्ने प्रतिबद्धता जनाए पनि स्थानीयको अवरोधपछि फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने अन्योलता देखिएको थियो । झन्डै दुई सातादेखि काठमाडौंको फोहोर नउठ्दा दुर्गन्ध फैलिन थालेपछि स्थानीय प्रतिनिधिहरूलाई फोहोर व्यवस्थापन गर्न दबाब सिर्जना भएको थियो । मंगलबारदेखि उठाउन सुरु भएको फोहोर सिस्डोलबासीको अवरोधका कारण मंगलबार दिउँसोसम्म नै फोहोर बोकेका ट्रकहरु लामबद्ध रूपमा बाटोमा नै रोकिएका थिए ।
फोहोर व्यवस्थापन गर्ने पहिलो चुनावी एजेन्डा बोकेर निर्वाचित भएका बालेन साहलाई यतिबेला सर्वसाधारणले फोहोर व्यवस्थापनका लागि दबाब दिन थालेका छन् ।
काठमाडौंका मेयर बालेन साहले अब फोहोर उठ्ने र समस्या नहुने बताएका छन् । “अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुःखका लागि क्षमाप्रार्थी छौं, फोहोर उठ्नुमात्रै यसको समाधान होइन अब अझै धेरै कुरा गर्न बाँकी छ,” उनले भने, “हामी फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहान्छौं, जसको समाधान यहाँको फोहोर अन्त कतै थुपारेर हुँदैन ।”
हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तीमा दुई अलगअलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पूरा गर्न समेत उनले सर्वसाधारणलाई आग्रह गरेका छन् ।
लामो समयसम्म फोहोर नउठ्दा सडक तथा सार्वजनिकस्थलमा रहेको फोहोरले वातावरणीय प्रदूषण बढाउनुका साथै सर्वसाधारणको स्वास्थ्यमा समेत नकारात्मक असर पुग्न सक्ने विज्ञहरूको भनाइ छ ।
काठमाडौंको फोहोर विसर्जनस्थल नुवाकोटको सिसडोलबाट दुर्गन्ध हटाउने उपाय र फोहोरले वातावरणमा पारेको असरबारे अध्ययन गर्न विज्ञहरूको टोली सिसडोल पुगेको थियो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक डा. रवीन्द्र ढकाल, डा. टिस्टा प्रसाईं जोशी, काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राई, मेयर बालेन साहको सचिवालयमा रहेका फोहोर व्यवस्थापन विज्ञ ई. सुनिल लम्साल, अमृता पौडेलसहितको टोली सिसडोल गएको हो । यसअघि २० जेठमा मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले सिसडोल क्षेत्रको भ्रमण गरी एक हप्ताभित्र दुर्गन्ध हटाउने प्रतिबद्धता जनाएका थिए । दुर्गन्ध हटाउन जैविक तत्व प्रयोग गर्ने तयारी छ ।