Logo

एकपछि अर्को गर्दै नेपालमा हवाई दुर्घटना हुँदा नेपालको हवाई–सुरक्षा धेरै कमजोर रहेको विश्व समुदायमा सन्देश गएको छ ।

असुरक्षित बन्दै नेपाली आकाश

नेपालको उड्डयन क्षेत्रको इतिहासमा फर्केर हेर्ने हो भने नेपाल वायुसेवा निगमले सन् १९५८ मा पटनाबाट काठमाडौँको गौचरनमा उतारेको २८ सिटर डीसी–३ डकोटा जहाजबाट सुरु भएको औपचारिक यात्रा हवाई सेवाले ६४ वर्ष नाघिसकेको छ । यसरी ६ दशकभन्दा बढीको यात्रामा जहाज चढ्ने सौभाग्य धेरै नेपालीले पाएका छन् । यसर्थ विश्वको धेरै हवाई दुर्घटना हुने मुलुकहरूमा नेपाल पनि पर्छ । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक पनि धेरै छ । यसरी एकपछि अर्को गर्दै विमान दुर्घटना हुँदै जानुले नेपाली आकाश असुरक्षित बन्दै गएको पुष्टि हुन्छ । आर्थिक दृष्टिकोणले हेर्ने हो भने पनि सन् १९५५ देखि सन् २०२२ सम्म आउँदा ६७ वर्षमा नेपाली भूमिमा धनजनको ठूलो धनराशि नोक्सान भइसकेको तथ्य स्पष्ट हुन जान्छ । गत जेठ १५ गते जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटना यती समूहको २४ वर्षयता भएको १३ औं हवाई दुर्घटना हो
नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हवाई दुर्घटनाको रेकर्ड राख्न थालिएको ६७ वर्षयता भएका जेठ १५ गतेको दुर्घटनासमेतलाई जोड्दा नेपाली आकाशमा १ सय ८ वटा हवाई दुर्घटना भएका छन् । यसका साथसाथै दुईवटा ट्विनअटर विमानबाट वि.सं. २०५५ जेठमा स्थापना भएको यती एयरलायन्सले २४ वर्षयता आफ्ना दुई जना सञ्चालक दाजुभाइसहित १३ वटा हवाई दुर्घटनामा चालक दलका सदस्य र यात्रुहरूसहित ९७ जनाले ज्यान गुमाएका थिए । यसै क्रममा वि.सं. २०४१ सालयता ट्विनअटर दुर्घटनामा मात्रै १ सय ८६ जनाले ज्यान गुमाइसकेका छन् । मुस्ताङ क्षेत्रमा ताराको यो दोस्रो ठूलो दुर्घटना हो । ६ वर्षअघि ताराले आधुनिक ब्रान्ड–न्यू ट्विनअटर म्याग्दीको दानामा दुर्घटना हुँदा चालक दलसहित २३ जनाको मृत्यु भएको थियो । यस कम्पनीले बेहोरेको १३ वटा हवाई दुर्घटनामा जेठ १५ गते मुस्ताङको सानोसरे भीरमा भएको दोस्रो ठूलो दुर्घटना हो । यसरी नै विमानमा पाइलट, को–पाइलट र क्याबिन क्रू गरी चार जना चालक दलका सदस्य थिए । यसका साथसाथै सन् २०१६ फागुन १२ गते म्याग्दीको सोलीस्थित घोप्टेमा तारा एयरलाइन्सको विमान दुर्घटना हुँदा विमानमा सवार चालक दलका सदस्यसहित २३ जनाको ज्यान गयो । एउटा विमान दुर्घटना भएको दुई दिनपछि गत सन् २०१६ फागुन १४ गते कालिकोटमा फेरि अर्को काष्ठमण्डप एयरलाइन्सको जहाजमा ९ जना सवारमध्ये दुई जना चालक दलको मृत्यु भयो । हाम्रो देशको सीमाभित्र पहिलो पटक कालिंगा एयरको विमान सन् १९५५ मा सिमरा विमानस्थलमा दुर्घटना भयो । दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो, जुन नेपालको इतिहासमा पहिलो हवाई घटना मानिन्छ । त्यसको एक वर्षमै सन् १९५६ मा इन्डियन एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना हुँदा १४ को ज्यान गुमाउनुपरेको थियो भने सोही एयरलाइन्सको विमान सन् १९५८ मा टीकाभैरवमा दुर्घटना हुँदा २० जनाको मृत्यु हुन पुग्यो । यस्तै नेपाल आयरलाइन्सको विमान सन् १९६० मा भैरहवामा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाए । यस्तै नेपाल एयरलाइन्सकै विमान सन् १९६२ मा ढोरपाटनमा दुर्घटना भयो, जुन घटनामा परी १० जनाको मृत्यु भयो । सोही कम्पनीको विमान सोही स्थानमा फेरि त्यही वर्ष दुर्घटना भयो, जसमा ६ जनाको निधन भएको तथ्यांक छ । त्यसैगरी सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासे डाँडामा दुर्घटना हुँदा ३५ जनाको ज्यान गयो । यसैगरी सन् १९७० मा नेपाल एयरलाइन्सको विमान दिल्लीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भयो । सोही वर्ष रोयल फ्लाइट जोमसोममा दुर्घटना भयो, जसमा एक जनाको मृत्यु भएको थियो । यस्तै सन् १९७२ मा रोयल फ्लाइट धुलिखेलमा दुर्घटना हुँदा ३१ जनाको मृत्यु भयो । यसैगरी सन् १९७५ मा नेपाल एयरलाइन्सकै विमान काठमाडौंको बौद्धमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो भने त्यसको एक वर्षपछि नेपाल एयरलाइन्सको विमान मेघौलीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । त्यसैगरी सन् १९७९ मा भीभीआईपी लाङलाङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । त्यसरी नै विराटनगरमा सन् १९८१ मा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भयो भने सोही एयरलाइन्सको विमान सन् १९८४ मा भोजपुरमा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए । सन् १९८५ मा नेपाल आर्मी सवार विमान दुर्घटना भयो, जसमा २५ जनाको ज्यान गयो । सन् १९९२ मा थाई एयरको विमान घाङ्फेदीमा दुर्घटना हुँदा त्यसमा सवार १ सय १३ जनाको मृत्यु भयो भने सोही वर्ष पीआईएको विमान भट्टेडाँडामा दुर्घटना हुँदा १ सय ६७ जनाको ज्यान गयो, नेपाली आकाशमा भएको सबैभन्दा ठूलो दुर्घटना थियो ।
यसरी नै नेपाल एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना भयो, जसमा दुई जनाको मृत्यु भयो । यसैगरी एभरेस्ट विमान सिंगापुरमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । सन् १९९५ मा भने त्यसको दुई वर्षपछि कर्णाली एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा हवाई दुर्घटनामा मृतकको संख्या एक थपियो । सन् १९९८ मा एटीएससी लुम्बिनी विमान म्याग्दीमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाउनुप-यो भने सोही वर्ष एसियन एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो । सन् १९९८ मा नै एनएसीको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा एक जनाको निधन भयो । सन् १९९९ मा नेकोन एयरको विमान जुम्लामा दुर्घटना हुँदा ५ जना र लुफ्थान्सा एयरको विमान भस्मासुर डाँडामा दुर्घटाना हुँदा पाँच जनाको नै मृत्यु भयो । सन् १९९९ मा नै नेकोन एयरको विमान रामकोटमा दुर्घटना हुँदा १५ र सोही वर्ष स्काईलाइनको विमान मकवानपुरमा दुर्घटना हुँदा १० जनाको ज्यान गयो । यसरी नेपाली आकाशमा हवाई दुर्घटना हुने क्रम जारी नै रह्यो । नेपाल एयरलाइन्सको विमान सन् २००० मा डँडेलधुरामा दुर्घटना भयो, जसमा पनि विमानमा सवार २५ जनाको ज्यान गयो । त्यसको एक सालपछि फिस्टेल एयरको विमान रारा तालमा खस्दा चार जनाको मृत्यु भयो । सन् २००२ मा स्काईलाइनको विमान फेरि सुर्खेतमा दुर्घटना भयो, जसमा सवार चार जनाको मृत्यु भयो भने सोही वर्ष कास्कीमा भएको सांग्रिला एयरको विमान दुर्घटनामा परी १८ जनाको मृत्यु भयो । सन् २००३ मा सिम्रिक एयरको विमान एभरेस्ट बेसक्याम्पमा भएको दुर्घटनामा भयो, जसमा दुई जनाले ज्यान गुमाए । सन् २००४ मा लमजुङमा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गयो भने रामेछापमा सन् २००५ मा एयर डाइनेस्टिकको विमान दुर्घटनामा पनि तीन जनाको नै मृत्यु भयो । जुम्लामा यती एयरलाइन्सको विमान सन् २००६ मा दुर्घटना हुँदा ९ जनाको मृत्यु भयो भने सोही वर्ष श्री एयरलाइन्सको विमान ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा २४ जनाको घटनास्थलमै ज्यान गयो । यसैगरी सन् २००८ मा अनमिनको विमान रामेछापमा दुर्घनामा पर्दा त्यसमा सवार १० जनाको ज्यान गयो भने त्यही वर्ष लुक्लामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी १९ जनाले ज्यान गुमाउनुप-यो । सन् २००९ भने नेपाली आकाश हवाई यात्राका लागि सुरक्षित रह्यो । तर २०१० मा भने २ वटा हवाई दुर्घटना भए, जसमा मकवानपुरमा भएको अग्नि एयरको विमान दुर्घटनामा १४ जनाको मृत्यु भयो भने खोटाङबाट काठमाडौंका लागि उडेको तारा एयरको विमान बीच बाटैमा दुर्घटना हुँदा २२ जनाले अकालमै ज्यान गुमाउनुप-यो । सन् २०११ मा बुद्ध एयरको विमान ललितपुरमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भयो भने सोही वर्ष तारा एयरको विमान ओखलढुङ्गामा दुर्घटना हुँदा २२ जनाको मृत्यु भयो । त्यसैगरी सन् २०१२ मा अग्नि एयरको विमान जोमसोममा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाउनुपरेको थियो भने सोही वर्ष अर्को सीता एयरलाइन्सको विमान भक्तपुरमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । त्यस्तै गरी सन् २०१४ मा भने नेपाल एयरलाइन्सको विमान अर्घाखाँचीमो दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने सन् २०१६ मा आएर तारा एयरको विमान म्याग्दीमा दुर्घटना हुँदा २३ जनाको मृत्यु भयो । यसरी नेपाली आकाश दुर्घटनामा ज्यान गुमाउने संख्या ८ सय ४० पुगेको छ । यसरी एकपछि अर्को गर्दै नेपालमा हवाई दुर्घटना हुँदा नेपालको हवाई–सुरक्षा धेरै कमजोर रहेको विश्व समुदायमा सन्देश गएको छ ।
अन्त्यमा भन्नुपर्दा सन् १९५५ देखि सन् २०२२ सम्मको ६७ वर्षको दौरानमा हवाई उडानको यात्रामा १ सय ८ भन्दा बढी विमान दुर्घटनामा पर्न गई झन्डै ९ सय मानिसले ज्यान गुमाइसकेको अभिलेख रहेको छ । ती दुर्घटनामा करिब ६ सय ९० जना भने बाँच्न सफल भएको उक्त रिपोर्टमा उल्लेख छ । हालसम्मको हवाई यात्राको तथ्यांकलाई अवलोकन गर्ने हो भने आन्तरिक विमानमा मल्टिइन्जिन विमान ५२ र सिंगल इन्जिन जहाज ८ वटा दुर्घटनामा परे । यसै क्रममा बाह्य विमान ९, हेलिकप्टर ३६ र मनोरञ्जनात्मक तीनवटा विमान दुर्घटना भएका छन् । उक्त तथ्यांकलाई नै आधार मान्ने हो भने हरेक वर्ष सरदर करिब १२ जनाले विमान दुर्घटनामा ज्यान गुमाउने गर्छन् । मूलतः जोखिमका हिसाबले नेपालका पहाडी क्षेत्रका विमानस्थलभन्दा जटिल अवस्थाका विमानस्थलहरू विश्वका थुप्रै मुलुकमा छन्, तर तिनमा दुर्घटनाको दर भने निकै कम छ । मुख्य सवाल उड्डयन सुरक्षासँग जोडिन्छ । हाम्रो विद्यमान उड्डयन व्यवस्थापनसम्बन्धी संयन्त्र हेर्ने हो भने त्यसमा प्रयुक्त राडरहरूको क्षमता बढाउनुपर्ने, नयाँ आधुनिक एयरलाइन्स नेभिगेसिन सिस्टम जडान गरिनुपर्ने कुरा विगत लामो समयदेखि नै उठ्दै आएको छ ।
नेपालको भौगोलिक अवस्थाका कारण पनि प्राविधिक रूपमा केही कमजोरी हुँदाहुँदै पनि विमान चालकहरूले आफ्नो अनुभवका आधारमा विमान उडाउनुपर्ने बाध्यता रहँदै आएको छ । यो नै दुर्घटनाका कारणसमेत बनेका उदाहरण पनि छन् । नागरिक उड्डयन प्राधिकरण नेपालमा विमानस्थलहरूको निर्माण, व्यवस्थापन, सञ्चालनदेखि वायुसेवा कम्पनीहरूको नियमन, अनुगमन र परीक्षण गर्ने निकायका रूपमा रहँदै आएको छ । वायुसेवाहरूको सुरक्षा अडिट गर्नेदेखि लिएर विमानस्थलहरूलाई सही ढंगमा सञ्चालन गराउनु, उड्डयन प्रणालीसँग सम्बन्धित सबै उपकरण चुस्त–दुरुस्त अवस्थामा राख्नु उसको दायित्वभित्र पर्छ । नेपाली आकाश असुरक्षित बन्दै गइरहेको छ । एकपछि अर्को गर्दै विमान दुर्घटना हुँदै जानुले नेपाली आकाश असुरक्षित बन्दै गएको पुष्टि हुन्छ । अन्तर्राष्ट्रिय नागरिक उडड्यन प्राधिकरण (आइकाओ) ले नेपालको आकाश असुरक्षित भएको भन्दै विभिन्न चेतावनी दिइरहेको बेला हवाई दुर्घटना हुने क्रम नरोकिएको हो । उड्डयन सुरक्षाका लागि अनिवार्य मानिने विभिन्न आठ वटा पक्षमा नेपालले न्यूनतम मापदण्डसमेत पूरा नगरेको आइकाओको तर्क छ । उड्डयन सुरक्षाका विषयमा विश्वका १ सय ४८ मुलुकमा गरिएको अध्ययनमा विश्वको सरदर स्तरभन्दा नेपाल १५ प्रतिशत थप कमजोर अवस्थामा रहेको आइकाओको प्रतिवेदनमा उल्लेख छ । फलतः आइकाओको उड्डयन सुरक्षा प्रतिवेदनले नेपालको उड्डयन सुरक्षामा ५८ प्रतिशत कमजोरी रहेको देखाएको छ । दुर्घटनाका थुप्रै कारण हुन्छन् । तीमध्ये विषम भू–धरातल, तीव्रगतिको मौसमी फेरबदल, पर्याप्त सूचना संकलन र प्रवाह गर्न विमानस्थलमा आधुनिक उपकरणको अभाव, पुराना मोडलका जहाजमा उपयोगी प्रविधि जडान नगरिनुलगायत रहेको विज्ञहरूको दाबी छ । नेपाली हवाईयात्राको इतिहास हेर्ने हो भने अहिलेसम्म नेपालमा ७१ वटा जहाज ठूला दुर्घटनामा परिसकेका छन् । अतः नेपालले ९० को दशकमा उदार आकाश नीति लिएपछि नेपाली आकाशमा उडान भर्न निजी जहाज कम्पनीले प्रवेश पाएका थिए । उडान गर्ने जहाजको संख्या जसरी ह्वात्तै बढ्यो त्यसरी नै दुर्घटनाको क्रम पनि बढेको देखिन्छ । सन् १९५० को दशकयता जहाज दुर्घटनापछि प्रत्येक पटक छानबिन आयोग बने । तर, आयोगले दुर्घटना नदोहोरिउन् भन्नाका लागि प्राविधिक र मानवीय कमजोरी हटाउन प्रशस्त सुझाव दिए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताइन्छ । यस अर्थमा मुलुकको हवाई सुरक्षा प्रणाली यथार्थवादमा चलिरहेको प्रतीत हुन्छ । अबदेखि उड्ने र पुग्ने स्थानको मौसम सफा हुनुपर्नेछ । दुवै ठाउँको मौसम सफा नभएको खण्डमा उडान अनुमति नदिइने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको जानकारी दिएको छ । यसका साथै हवाई दुर्घटनाका प्रमुख कारण मानवीय त्रुटि, खराब मौसम, हवाई यानको गुणस्तर व्यावसायिक प्रतिस्पर्धा आदि नै हुन् । अतः प्रारम्भिक अनुमानअनुसार प्रतिकूल मौसमका कारण विमान दुर्घटनाग्रस्त भएको मानिए पनि यस सम्बन्धमा गठित पाँच सदस्यीय जाँचबुझ समितिको प्रतिवेदनपश्चात् नै दुर्घटनाको ठोस निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ । यसरी बेलाबेलामा बन्ने छानबिनपछि बन्ने प्रतिवेदनमा प्रायः जहाजको प्राविधिक अवस्था चुस्त राख्नुका साथै जोखिमबाट जोगाउन सूचना दिने प्रविधि जडान गर्न सुझाव दिइने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्