Logo

नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा

आगामी दुई वर्षपछि हुने नवौं राष्ट्रिय बृहत खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ । प्रदेश नम्बर ५ को नेपालगन्ज रंगशालामा बुधबार समापन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने गरी झण्डा हस्तान्तरण गरिएको छ ।
उक्त समारोहका प्रमुख अतिथि उपराष्ट्रपति नन्द बहादुर पुुनले बुधबार साँझ विजेता टोलीलाइ पुरस्कार वितरण गर्दै नवौं राष्ट्रय खेलकुद प्रतियोगिता आयोजना हुने प्रदेश गण्डकी प्रदेशलाई झण्डा हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम तय गरिए पनि विशेष कारणले प्रधानमन्त्री कार्यक्रममा सहभागि हुन नसक्ने भएपछि उपराष्ट्रपति कार्यक्रममा सहभागि भएका हुन् ।
वैशाख ५ गते राष्ट्रपति विद्यादेवि भण्डारीले उक्त प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठसहितको टोलीलाई समापनको अवसरमा नवौं राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गरिएको हो ।
गण्डकी प्रदेशले २०७७ फागुन २० देखि २७ गतेसम्म विभिन्न स्थानमा भव्यताका साथ सम्पन्न गर्नेगरी जिम्मा लिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए ।
राखेपले शुक्रबार बोर्ड बैठक बसेर नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने आयोजक प्रदेशको टुंगो लगाएको हो । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुँदा नै गण्डकी प्रदेशले आयोजना गर्ने दाबी गरेको थियो । तर प्रदेश पाँचले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशलाई दिने सहमति भएको थियो ।
राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशमा केही खेलकुदका भौतिक संरचना निर्माण भएको त केही निमार्णको क्रममा भएकोले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने निर्णय गरेको राखेपका सदस्य राजेशकुमार गुरुङले बताए ।
नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदले गर्दा उक्त क्षेत्रमा करिब एक अर्ब बढीको खेलकुदको पूर्वाधारमा लगानी भएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले बताए । गत चैत २७ गते देखि अनौपचारिक रुपमा विभिन्न खेलकुद प्रतियोगिता सुरु भएको थियो । ३ सय ७२ वटा स्वर्ण पदकको लागि भनि खेल पूर्व घोषणा गरे पनि आर्चरी, ट्रयाथलन, वडिविल्डिङ खुल्ला इभेन्ट भएकोले उक्त पदक -याङकिङमा नजोडिएको हो ।

गौरिकासहित तीनजनाले तोडे रेकर्ड
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडीतर्फ तीन वटा राष्ट्रिय रेकर्ड तोडिएको छ । नेपालगन्जस्थित एक होटलको पौडी पोखरीमा आयोजना भएको प्रतियोगितामा एपिएफका शुभम श्रेष्ठ र तेन्जिङ एनआर गुरुङले नयाँ रेकर्ड तोड्दा त्रिभुवन आर्मीकी गौरिका सिंहले पनि रेकर्ड तोड्न सफल भएकी हुन् ।
एपिएफका श्रेष्ठले पुरुष एक सय मिटर व्रेसस्ट्रोकमा आफ्नै नाममा रहेको रेकर्ड तोड्न सफल भए । उनले १ मिनेट ८ः३४ सेकेण्डको रेकर्डलाई १ मिनेट ८ः१५ सेकेण्डमा दूरी पार गरी आफ्नो रेकर्डमा सुधार गरेका हुन् । त्यसैगरी एपिएफकै ५० मिटर व्याक स्ट्रोकमा गुरुङले मिराज प्रजापतिको नाममा रहेको रेकर्ड तोड्न सफल भए । प्रजापतिले उक्त दूरी ३४ः१३ सेकेण्ड पार गरेको रेकर्ड कायम भएकोमा गुरुङले ३२ः८१ सेकेण्डमा उक्त दूरी पार गरी नयाँ रेकर्ड कायम गर्न सफल भएका हुन् ।
त्रिभुवन आर्मीकी गौरिका सिंहले आफ्नै नाममा रहेको रेकर्डमा सुधार गरेकी हुन् । ५० मिटर व्याकस्ट्रोक महिला तर्फ उनले ३०ः८५ सेकेण्डमा उक्त दूरी पार गरी रेकर्ड तोड्न सफल भएकी हुन् । उनले यसअघि उक्त दूरी ३१ः२२ सेकेण्डमा पार गरेकी थिइन् ।

लक्ष्मण ढुंगाना-दीननाथ बराल

प्रतिक्रिया दिनुहोस्