जुनारमा विषादी छर्न सुरु

सिन्धुली-जुनारमा देखिएको औंसा पार्ने झिँगा व्यवस्थापनका लागि विषादी छर्न सुरु गरिएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका जुनार बगैंचामा फल कुहाउने औंसा पार्ने झिँगा (ब्याक्टोसेरा मिन्याक्स) व्यवस्थापनका लागि विषादी छर्न थालिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ जुनार सुपरजोन सिन्धुलीले सुनकोशी गाउँपालिका–७ को मझुवाबाट विषादी छर्न सुरु गरेको जुनार सुपरजोनका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत देवराज अधिकारीले जानकारी दिए ।
क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रमअन्तर्गत जुनार सुपरजोन क्षेत्रका ८ स्थानका किसानसँगको ५०-५० प्रतिशत साझेदारी लगानीमा प्रोटिन वेट औषधि खरिद गरी छर्न थालिएको उनले बताए । प्रोटिन वेट खरिदका लागि जुनार किसानले ८ लाख १७ हजार ७ सय ७८ रूपैयाँ संकलन गरेका थिए । मझुवामा तीनजना सहजकर्ता खटाइएको छ ।
मझुवामा सकिएलगत्तै कमलामाई नगरपालिका–३ को जलकन्या, गोलञ्जोर गाउँपालिका–५ को खनियाँखर्क, चिसापानी र नयाँखर्क, गोलञ्जोर गाउँपालिका–४ को तीनकन्या, गोलञ्जोर–२ को बितिजोर, गोलञ्जोर–१ को डुँडभञ्ज्याङ र तीनपाटन गाउँपालिका–१ को तोस्रामखोलाका जुनार बगैंचामा विषादी छरिने अधिकारीले जानकारी दिए । ती सवै स्थानका लागि जम्मा ८ सय १७ दशमलव ७५ लिटर औषधि लाग्ने छ । चैत÷वैशाखमा झिँगाको प्यूपा वयस्क भएर बाहिर आउने र जुनार फुल्ने बेलामा यसको व्यवस्थापन गर्नुपर्ने भएकाले विषादी छिट्न लागिएको उनले बताए । त्यसका लागि १८ जना सहजकर्ता खटाइएको छ ।
जुनार सुपरजोन क्षेत्रका विभिन्न स्थानमा १३ हजार ८३ वटा बोटमा जुनार फलेको परियोजनाको तथ्यांकले देखाएको छ । जसमा ३० देखि ४० प्रतिशत जुनारलाई किराले प्रभावित पार्ने देखिएपछि विषादी छर्न थालिएको हो ।
किराका कारण बर्सेनि जुनार उत्पादनमा ह्रास आउन थालेपछि जुनार सुपरजोनले यो प्रयास थालेको हो । ब्याक्ट्रोसेरा मिन्याक्सको व्यवस्थापनका लागि २०७४ सालमा पनि सुपरजोनले गोलञ्जोर गाउँपालिका–४ तीनकन्याको ८ सय रोपनी जुनार बगैंचामा क्षेत्रगत नियन्त्रण कार्यक्रम सञ्चालन गरेको थियो । प्रोटिन हाईड्रोलाईसेट प्रयोग गरि अबलम्वन गरिएको क्षेत्रगत नियन्त्रण कार्यक्रम प्रभावकारी भएपछि यसवर्ष पनि सोही विधि अपनाइएको हो ।