रुकुम पश्चिमका स्थानीय तहका पहिला निर्णय

रुकुम पश्चिम -रुकुम पश्चिमका कुन स्थानीय के निर्णय गस्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधी निर्वाचित भएपछि रुकुम पश्चिमका विभिन्न स्थानीय तहहरूले पहिलो निर्णयहरू गरेका छन । त्यसका साथै पालिका प्रमुखले पदभार ग्रहण गर्दा पनि विभिन्न निर्णय गरेका थिए । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले गाउँपालिका भरीका विद्यालयलाई जस्तापाताको छाना मुक्त गर्ने निर्णय गरेका छन ।
अध्यक्ष केसीले पदभार ग्रहण गर्दा सबै सामुदायिक विद्यालयलाई पक्की बनाउने पहिलो निर्णय गरेका हुन । त्यस्तै राजश्व संकलनलाई व्यवस्थित बनाउने र सामाजिक सुरक्षा भत्तालाई नियमित बनाउने निर्णयमा पनि हस्ताक्षर गरे । त्यस्तै जिल्लाको बाँफिकोट गाउँ कार्यपालिका रुकुम पश्चिमको बैठकले औषधी खरिद गर्ने, एम्बुलेन्सलाई प्रमुख प्रशासकीय अधिकृत र लेखा मातहत राख्ने निर्णय गरेको छ । गाउँपालिका भवन अगाडिको जग्गा खरिदको प्रक्रिण अघि बढाउने निर्णय पनि भएको कार्यपालिका सदस्य तथा १० नम्बर वडाध्यक्ष हरि चन्दले जानकारी दिए ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले आकष्मिक दुर्घटनामा परी घाइते भएका, गर्भवती, सुत्केरी तथा गरिबीको रेखामुनि रहेका सबैलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो । गाउँपालिकाबासीलाई सहज सेवा प्रवाह गर्नका लागि र केही राहत होस भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको हो । बैठकले लक्षित समुदाय, गरीब, विपन्न बर्गको स्वास्थ्य बीमा गरिदिने निर्णय पनि गरेको अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिए । त्यस्तै ४० वर्ष माथि भएर पनि विवाह नगरेका महिलालाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने, लक्षित बर्ग गरीब, विपन्नका छोराछोरीलाई छात्रवृत्तिमा पठन पाठनको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका पहिलो कार्यपालिका बैठकले आगामी बजेट निर्माणको लागि आवश्यक समिति गठन गरी कार्यान्वयनमा जाने निर्णय गरेको छ ।
स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति, स्थानीय राजश्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति र योजना अनुगमन समिति गठन गरिएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका मेयर महेन्द्र केसीले पदभार ग्रहण गर्दै तीनवटा निर्णय गरेका छन्। निर्णयको पहिलो बुँदामा बन्द भएका विद्यालय खोल्ने उल्लेख छ । अघिल्लो सरकारले विद्यार्थी संख्याको आधारमा केही विद्यालय मर्ज गरेको थियो। त्यस्तै जिल्लाका सरकारी स्वास्थ्य संस्थाबाट जिल्लाबाहिर रिफर गरिएका बिरामीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने र नगरपालिकाले दाहसंस्कारका लागि निःशुल्क दाउराको समेत व्यवस्था गर्ने पनि निर्णयमा हस्ताक्षर भएको छ ।