खोटाङका स्थानीय तहलाई तीन अर्ब ६२ करोड «

खोटाङका स्थानीय तहलाई तीन अर्ब ६२ करोड

खोटाङ– अगामी आर्थिक वर्ष २०७९/०८० मा खोटाङका १० स्थानीय तहका लागि संघीय सरकारबाट तीन अर्ब ६२ करोड बढी अनुदान हस्तान्तरण भएको छ । समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान गरी जिल्लालाई जम्मा तीन अर्ब ६२ करोड १ लाख बजेट प्राप्त भएको हो ।
जिल्लाका दुई नगरपालिकाका लागि एक अर्ब १४ करोड २१ लख र आठ गाउँपालिकाका लागि दुई अर्ब ४७ करोड ८० लाख बजेट विनियोजन भएको छ । सबैभन्दा बढी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ६५ करोड १५ लाख र सबैभन्दा कम वराहपोखरी गाउँपालिकाले २४ करोड २४ लाख बजेट पाएको छ । हलेसी तुवाचुङ नगरपालिकालाई ४९ करोड छ लाख, ऐसेलुखर्क गाउँपालिकालाई ३२ करोड ४९ लाख, केपिलासगढी गाउँपालिकालाई २५ करोड ८६ लाख, खोटेहाङ गाउँपालिकालाई ४३ करोड एक लाख बजेट उपलब्ध भएको छ ।
यस्तै जन्तेढुंगा गाउँपालिकालाई २९ करोड ९५ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई ३७ करोड ९२ लाख, साकेला गाउँपालिकालाई २५ करोड ६० लाख र रावाबेसी गाउँपालिकालाई २८ करोड ७३ लाख बजेट विनियोजन भएको अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि जिल्लाका १० स्थानीय तहलाई तीन अर्ब ५७ करोड ६४ लाख बजेट प्रदान गरेको थियो । चालू आर्थिक वर्षमा कार्यान्यवन भइरहेको बजेटको तुलनामा आगामी आर्थिक वर्षमा ६ लाखमात्र बजेट बढेर आएको छ ।

प्रतिक्रिया दिनुहोस्