साताअघि नै भित्रियो मनसुन «

साताअघि नै भित्रियो मनसुन

यस वर्ष एक साताअघि नै नेपालमा मनसुन भित्रिएको छ । सामान्यतयाः १३ जुनदेखि मनसुन भित्रिने भए पनि यस वर्ष जुन ५ मा नै भित्रिएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार १ साता अगाडि नै नेपालको पूर्वी क्षेत्रमा आइतबारदेखि मनसुन प्रवेश गरेको जनाएको छ । मौसमविद्हरुले बंगालको खाडी नजिकको निकोबार र अन्डमान टापु (भारतीय भाग) मा यस पटक औसत समयभन्दा करिब एक साताअघि (मे १६ अर्थात् सोमबार) नै मनसुनी गतिविधि सक्रिय भएकाले मनसुन एक साताअघि सुरु भएको बताएका छन् ।
विभागका वरिष्ठ जलविद् रामप्रसाद अवस्थीले बंगालको खाडीबाट आएको दक्षिण पूर्विय वायु छिटो सक्रिय भएकाले मनसुन साता दिनमै सुरु भएको बताएका छन् । ‘पहिला पहिला पनि छिटो हुन्थ्यो, यो वर्ष पनि छिटा नै मसुन सक्रिय हुँदै छ,’ उनले भने, ‘यो वर्ष सरदरभन्दा पानी बढी पर्ने अनुमान छ ।’
मुलुकका अन्य भू–भागमा भने केही दिन पछि मनसुन प्रवेश हुने महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आगामी जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको विज्ञप्तीमा उल्लेख छ । फागुन १७ देखि जेठ १७ सम्मको अवधि प्रि–मनसुनको हो । यस वर्ष काठमाडौंमा फागुन पहिलो सातादेखि नै छिटपुट वर्षा भइरहेको छ । वैशाख १ पछि त झन् काठमाडौंमा बढी नै वर्षा भएको छ । तैपनि प्रि–मनसुनमा पर्नुपर्ने जति वर्षाको परिमाण पुग्न सकेको छैन ।
मार्च, अप्रिल र मे प्रि–मनसुन हुने महिना हुन् । यस पटक मे महिना सुरु भएपछि मात्र सबैतिर वर्षा भएको छ । ढिलो गरी प्रि–मनसुन सक्रिय भए पनि यो वर्षको मनसुन भने करिब साताअघि नै भित्रिएको विभागले जनाएको छ ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले नेपालमा ‘कमन अलर्ट प्रोटोकल सिस्टम’ विकास गर्नुपर्ने बताएका छन् । आगामी दिनमा पानी पर्ने वा नपर्ने भन्ने बारेमा जनतालाई सुसुचित गराउन आम नागरिकमाझ एकैपटक सूचना प्रवाह हुने प्रणाली विकास गर्नुपर्ने आवश्यक्ता रहेको उनको भनाइ छ । महानिर्देशक जोशीले सबैसमक्ष एकैपटक सूचना प्रवाह हुने प्रणाली संसारका केही मुलुकमा आइसकेकोले अबका दिनमा नेपालमा पनि त्यो प्रणालीको विकास गरेर जनतालाई सम्भावित प्राकृतिक विपद्बाट जोगाउनु पर्ने बताएका हुन् ।
अबका दिनमा राज्यले आम नागरिकलाई पानी पर्दैछ भन्ने जानकारीका साथै त्यसबाट हुने क्षतिको पूर्व आकलन गरेर त्यसको बारेमा सचेत गराउनु पर्ने बताए । महानिर्देशक जोशीले यसको व्यवस्थित विकास गर्न जल तथा मौसम विज्ञान विभाग, विपद् न्यूनिकरण प्राधिकरण, सुरक्षा निकाय लगायतका सबै सरोकार निकायहरुको समन्वय र सहकार्य आवश्यक रहेको जानकारी दिएका छन् ।
“हामीले पानी पर्छ भन्ने मात्रै होइन, पानी परेर यसले कतिसम्म विनाश निम्त्याउन सक्छ, वा पानी परेर बाढी आउँछ, त्यसले गर्नसक्ने विनाशको परिणाम के हुनसक्छ भनेर त्यो प्रभाव बुझाउन सक्नुपर्छ,” उनले भने, “अर्को कुरा सबैले बुझ्ने, जान्ने र सबै सूचना प्रणालीबाट एकैपटक सूचना प्रवाह हुने प्रणालीको बिकास भएको छ, अन्तर्राष्ट्रिय स्तरमा त्यसलाई कमन अलर्ट प्रोटोकल भन्छन्, सायद हामी बिस्तारै कमन अलर्ट प्रोटोकलमा गयो भने जतिसुकै विशेष कार्यक्रम चलेको होस्, विशेष परिस्थितिमा त्यो सूचना जनतासमक्ष प्रवाह हुने एउटा मेकानिजम डेभलप गर्नुपर्ने हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्