काठमाडौंको फोहोर व्यवस्थापनबारे मन्त्री झाँक्रीसँग निरन्तर परामर्शमा मेयर साह
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थानपनबारे परामर्श गरेका छन् । बन्चरेडाँडामा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा शनिबार मन्त्री झाँक्री र मेयर साहबीच छलफल भएको हो । मन्त्री झाँक्रीले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको ’सेल वान’मा फोहोर फाल्न सकिने गरी निर्माण भइसकेकाले फोहोर व्यवस्थापनका लागि महानगरलाई आफ्नो पूर्ण सहयोग रहने बताए ।
उनले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटबारे मन्त्रालयले गरेको प्रतिबद्धता पूरा गर्ने समेत वचन दिए । जग्गा अधिग्रहण गर्नुपर्ने स्थानीयको मागबारे प्राविधिक टोलीकोे अध्ययन प्रतिवेदनपछि मात्रै टुंगोमा पुग्न सकिने भएकाले तत्काल फोहोर व्यवस्थापन गर्नका लागि मन्त्रालयले समन्वय गर्ने उनले बताए ।
मन्त्री झाँक्री र महानगर प्रमुख साहबीच बन्चरेडाडाँमा फोहोरको वैज्ञानिक व्यवस्थापनबारे समेत छलफल भएको थियो । काठमाडौंको फोहोर व्यवस्थापन आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउँदै मन्त्रालयलाई समन्वय गरिदिन महानगर प्रमुख साहले आग्रह गरे ।
छलफलमा उपमेयर सुनिता डंगोलको समेत सहभागिता थियो । कामपाको मेयरमा विजयी भए लगत्तै फोहोर व्यवस्थापनका लागि मेयर साहले विशेष सक्रियता देखाएका छन् ।
उनले बुधबार पनि मन्त्री झाँक्रीसँग काठमाडौंको फोहोर व्यवस्थापन र बन्चरेडाँडा ल्यान्डफिल्ड साइट सञ्चालनबारे छलफल तथा परामर्श गरे थियो । सहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्यान्डफिल्ड साइट सञ्चालन तथा फोहोर व्यवस्थापन र सिसडोलको पोस्ट क्लोजरबारे केही दिनमै सर्वपक्षीय छलफल गर्ने जनाएको छ ।