‘हजको शुल्क वृद्धि साउदी सरकारको निर्णयअनुसार’

साउदी अरव सरकारले निर्धारण गरेअनुसार नै हज यात्रा गर्नका लागि शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउदी अरव सरकारले निर्धारण गरे अनुसार नै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको प्रष्ट्याएका हुन् ।
उनले काठमाडौंमा पत्रकार सम्मेलन गरी साउँदी अरव सरकारको निर्णयअनुसार नै यस वर्षको हज यात्राका लागि शुल्क वृद्धि भएको पनि स्पष्ट पारे । शुल्क वृद्धि गरेर समितिका पदाधिकारीहरुले अनियमितता गरेको चर्चा भइरहेका बेला अध्यक्ष मियाले यस्तो जवाफ दिएका हुन् । उनले साउदी अरव सरकारले नै वृद्धि गरेर शुल्क निर्धारण गरेको र सोही अनुसार अघि बढ्दा हजयात्राका लागि शुल्क वृद्धि हुन पुगेको उल्लेख गरे ।
अध्यक्ष मियाँले यस वर्षको हजयात्रीहरुलाई आगामी असार १५ गते भित्र मक्का पु-याई सक्ने गरी आवश्यक तयारी भइरहेको पनि बताए । समितिले छनौट भएका हजयात्रीहरुलाई तोकिएको शुल्क यही जेठ २३ गतेभित्र जम्मा गरिसक्न पनि सचेत गराएको छ । समितिका अध्यक्ष मियाँले त्यसका लागि जेठ १६ गतेको गोरखापत्र दैनिकमा सार्वजनिक सूचना जारी गरिएको पनि बताए । सरकारले विगत वर्षहरुमा झैं यस वर्ष पनि हजयात्राका लागि ४, ६३, ३९३ रुपैयाँ शुल्क रकम तोकेको छ । आर्थिक अवस्था कमजोर भएका इस्लाम धर्मावलम्वीहरुले हजयात्रा गर्न कठिनाइ हुने भएकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउन पनि पहल भइरहेको समितिले जनाएको छ