Logo

जुम्लाका आठ पालिकालाई दुई अर्ब २९ करोड

संघीय सरकारले आगामी आव २०७९/०८० का लागि कर्णाली प्रदेशको जुम्ला जिल्लाका आठ स्थानीय तहलाई झण्डै दुई अर्ब २९ करोड विनियोजन गरेको छ । आइतबार सार्वजनिक भएको बजेटअनुसार जुम्लाका आठ पालिकालाई विभिन्न चार अनुदान शीर्षकबाट दुई अर्ब २९ करोड ९० लाख बजेट विनियोजन गरेको हो ।
समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चारवटा शीर्षकबाट स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरिएको हो । जसमा चारवटै शीर्षकबाट गरी जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकालाई ३८ करोड २१ लाख अनुदान आएको छ भने कनकासुन्दरी गाउँपालिकामा ३० करोड ८७ लाख, गुठिचौरलाई २० करोड १३ लाख, तातोपानी गाउँपालिकाका लागि २९ करोड १९ लाख बजेट विनियोजन भएको छ ।
त्यस्तै तिला गाउँपालिकामा आगामी आवका लागि ३२ करोड ३५ लाख, पातारासी गाउँपालिकामा २७ करोड ५१ लाख, सिंजा गाउँपालिकामा २६ करोड २८ लाख र हिमा गाउँपालिकाका लागि २५ करोड ३६ लाख गरी जुम्लाका आठ स्थानीय तहमा दुई अर्ब २९ करोड ९० लाख बजेट विनियोजन भएको अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
आगामी आवका लागि समग्रमा जुम्ला जिल्लाका लागि समानीकरण अनुदानतर्फ ८० करोड ९३ लाख, सर्शत अनुदानतर्फ एक अर्ब ३२ करोड ८३ लाख, विशेष अनुदानतर्फ आठ करोड २६ लाख र समपूरक अनुदानतर्फ सात करोड ८८ लाख विनियोजन भएको छ । जमध्ये चालूतर्फ दुई अर्ब एक करोड ७४ लाख र पुँजीगततर्फ २८ करोड १६ लाख छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्