स्थानीय तह पूर्वाधार कार्यक्रममा कर्णालीका १५ पालिका छनोट

कर्णाली प्रदेशका १५ वटा गाउँपालिका तथा नगरपालिका स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रम सञ्चालनका लागि छनोट भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रमका लागि कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहमध्ये चारवटा नगरपालिका र ११ गाउँपालिका गरी १५ पालिकालाई कार्यक्रमका लागि छनोट गरेको हो ।
बेलायत सरकारको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा कर्णालीमा आगामी २०२३ जुलाईसम्म स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रम सञ्चालन हुने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कर्णाली प्रदेशबाट कार्यक्रमका लागि ५७ स्थानीय तहबाट आएको आशयको मूल्याङ्कनका आधारमा १५ स्थानीय तह छनोटमा परेका हुन् । स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत पूर्वाधार विकास, जलवायु परिर्वतन अनुकूलन, फोहोर मैला व्यवस्थापनलगायतका क्षेत्रमा काम सञ्चालन हुने तिला गाउँपालिकाका पूर्वअध्यक्ष रतननाथ योगीले बताए । उनले भने, “स्थानीय पूर्वाधार सहयोग कार्यक्रममा तिला गाउँपालिका छनोटमा पार्न विशेष पहल गरेको थिएँ । कार्यकाल सकिए पनि तिलाको विकासका लागि गरिएको पहलअनुसार छनोट भएसंँगै पालिकाको विकासमा थप टेवा पुग्ने आशा छ ।”
पछिल्लो समय बढ्दै गएको जलवायु परिवर्तन अनुकूलन तथा फोहोर व्यवस्थापन र पालिकाको पूर्वाधार विकासमा यस कार्यक्रमले विशेष सहयोग पु-याउने छ । स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रममा जुम्लाका आठ पालिकामध्ये तिला गाउँपालिकालगायत कर्णालीका १५ पालिका छनोटमा परेका हुन् । जसअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका र रासकोट नगरपालिका, सल्यानको दार्मा गाउँपालिका, सुर्खेतको भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिका हुम्लाको खार्पुनाथ गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिका छनोटमा परेका छन् ।
त्यस्तै, डोल्पाको शे–फोक्सण्डो गाउँपालिका, दुल्लु नगरपालिका, हुम्लाको सिमकोट र ताजाकोट गाउँपालिका र मुगु जिल्लाको सोरु तथा कार्मारोङ गाउँपालिका गरी १५ पालिका छनोटमा परेको मन्त्रालयको परिपत्रमा उल्लेख छ ।