Logo

नेवार समुदायमा सिथी नखः को महत्व

सिथी नखः हरेक वर्षको ज्येष्ठ शुक्ल षष्ठीका दिन मनाइने गरिन्छ । नेवार समुदायले पानीको स्रोत सफा गर्दै सिथी नखः पर्व मनाउँछन् । काठमाडौं उपत्यकाका नेवार समुदायले पनि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन सिथी नखः पर्व मनाइँदै आएका छन् । विशेष गरी पानीको मुहान, इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै आफू बस्ने वरपर सरसफाइ गरिने यो पर्व लिच्छिविकालीन समयदेखि नै सुरु भएको विश्वास छ ।
नेवार समुदायभित्र पनि हिन्दू तथा बौद्ध धर्मावलम्बीले समेत सिथी नखः पर्वलाई साझा संस्कृतिका रूपमा मनाउँदै आएका छन् । यस दिनलाई भगवान् महादेवको ज्येष्ठ पुत्र कार्तिकेय कुमारको जन्म दिनका रूपमा पनि लिइन्छ । यस दिनलाई नेवार समुदायले दिगु पूजाको अन्तिम दिनका रूपमा पनि मनाउने गर्छन् । यस दिनलाई चाडपर्वको अन्तिम दिनको स्वरूपमा आ–आफ्ना कुल देवतालाई पूजा गरेपछि मात्रै आफूले त्यस वर्षभित्र गरेको हरेक कामले सिद्धि प्राप्त हुने र अन्य देवीदेवताको पूजाको फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।
नेवार समुदायमा ऋतुअनुसारका चाडपर्वअनुसार पकवान खाने प्रचलन छ । त्यसैले नेवार समुदायका चाडपर्व खानेकुराको नामले समेत प्रसिद्ध छ । त्यस्तै पर्वमध्ये एक हो— सिथी नखः पर्व । सिथी नखःका दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीका स्रोतको सरसफाइ गर्छन् । वर्षाको बेला बगेर आउने भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिउँदमा पुरिएको, थुनिएको र सुकेको मूललाई बर्सातको पानीले फुटाउने भएकाले पनि सिथी नखःको दिन पानीको मूलको सफाइ गर्ने गरेको हो ।
सिथी नखः भनेको काठमाडौं उपत्यकामा मनाइने वार्षिक जात्रापर्वको अन्तिम दिन हो । यसपछि किसानहरू खेतीपातीमा व्यस्त हुन्छन् । उनीहरूको पूरा समय खेतमै बित्छ । अब अर्को वर्षको जात्रापर्व धान रोपाइँ सकिएपछि सुरु हुन्छ । यो सिथी नखःको सात सातापछि आउँछ, जसलाई ‘गठांमुग’ भनिन्छ । सिथी नखःले मनसुन सुरु हुन लागेको संकेत गर्छ । मनसुनअघि मुहान सफा गरेर पानीको आपूर्ति प्रणाली व्यवस्थित गर्नु यसको उद्देश्य हो । वर्षा सुरु भइसकेपछि भूमिगत पानीको सतह बढ्ने भएकाले सरसफाइ गर्न गाह्रो हुन्छ । त्यसैले मनसुन सुरु हुनु ठ्याक्कै अगाडि सिथी नखः मनाइन्छ ।
लामो समयदेखिको सुक्खा याम हुँदा यस बेला पानीको सतह पूरै घट्ने भएकाले इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुने बताइन्छ । सिथी नखःका दिन मुहान सफा ग¥यो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास पनि रहेको छ । सिथी नखःका दिन सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिन नभएसम्म चलाउन नहुने परम्परा छ । चार दिनपछि पूजा गरेर पानी चलाउने चलन छ । पानीको मुहान सफा गरेपछि पानी जम्न समय लाग्नुका साथै फोहोर हुने भएकाले चार दिनपछि मात्रै चलाउने गरिन्छ । त्यसो त सिथी नखःको दिन पनि भोज नखाने होइन । यो दिन मास, मुगी, केराउलगायतका दलहान पकवान पकाउने चलन छ । यस दिन बारा, चटामरी, पापड, मालपुवा, र म्हुछ्यामारी (मुठी पारी बनाइको एक किसिमको रोटी) आदि पकवान पकाएर खाने चलन छ ।
पहिला–पहिला घरघरमा धारा नभएका बेला यही कुवा, पोखरी, इनार र ढुंगेधाराको पानी प्रयोग गर्ने गरिन्थ्यो । पछि घरघरमा धारा आएपछि यसको प्रयोग कम हुन गएको थियो । तर, पछिल्लो केही समयदखि फेरि यसको महत्व बढेको छ । मान्छेको चापसँगै खानेपानीको समस्या पर्न थालेपछि फेरि इनार, कुवा, ढुंगेधारा र पोखरीको पानी सञ्चालन गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्