नेपालीको औसत आय अनुसार नै सामाजिक सुरक्षा भत्ताको उमेर निर्धारण

अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताएका छन् ।
बजेट छलफलमा उठेका प्रश्नको शुक्रबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले १५ औं आवधिक योजनाले निकालेको निष्कर्ष अनुसार ६९.७ वर्ष आयु रहेको सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरिएको बताए । यसअघिका सरकारले ७० वर्षमा वृद्धभत्ता दिँदै आएकोमा आगामी आर्थिक वर्षको बजेटमा उमेर घटाएर ६८ वर्ष पु-याइएको छ ।
मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट सबै सरोकारवाला निकायसँगको छलफल, सुझाव र योजनाका आधारमा बजेट ल्याएको बताए । उनले अर्थशास्त्रीदेखि निजी क्षेत्रको समेत सुझाव समावेश गरेर बजेट ल्याएको दावी गरे । सबैको माग, सुझाव र छलफलको माध्यमबाट बजेट प्रस्तुत भएकाले बजेट सबैको स्वामित्व रहेको मन्त्री शर्माको भनाइ छ । “बजेट निर्माण गर्दा विभिन्न सरोकारवालाहरु, अर्थशास्त्रीहरु, अन्य विभिन्न विज्ञहरु, विभिन्न व्यवसायीक क्षेत्र, किसान, महिला, दलित जनजातिलगायत सबै सरोकारवालाका सुझाव समेटेका छौं” उनले भने, “आगामी आर्थिक वर्षको बजेट सम्यमिता अपनाएर ल्याएको छु । यो बजेट जम्मा १७ खर्ब ९३ अर्ब ८३ करोड रहेको छ ।”
सांसदहरुले सरकारले चुनाव लक्षित बजेट ल्याएको भने पनि आफूले संयमित भएर बजेट ल्याएको उनको भनाइ छ । उनले अघिल्लो सरकारले ल्याएको भन्दा गत वर्षको प्रतिस्थापन बजेट १०.७३ प्रतिशतले मात्रै वृद्धि भएको बताए । मन्त्री शर्माले प्रतिस्थापन विधेयक बजेट भन्दा आगामी आर्थिक वर्षको बजेट ९.८६ प्रतिशतले मात्रै बढी भएको बताए ।
अर्थमन्त्री शर्माले संविधानमा कति समयका लागि बजेट बनाउने भनेर लेखेको नभेटेको बताए । मन्त्री शर्माले बजेट छलफलमा नेकपा एमालेका सांसदहरुले प्रदेश र केन्द्रको निर्वाचनभन्दा अगाडिसम्म मात्रै रहने सरकारले ५ वर्षको लागि भनेर आयोजनामा बजेट ल्याएको भनाइको जवाफ दिँदै ‘संविधानमा कति समयको लागि बजेट ल्याउने भनेर लेखेको कतै नभेटिएको बताए । उनले संविधानमा त्यस्तो व्यवस्था नदेखिएकाले एक वर्षको लागि बजेट ल्याएको बताए । मन्त्री शर्माले निर्वाचन आफ्नो प्रक्रियामा हुने भन्दै निर्वाचनपछि आउने सरकारले पनि यही बजेट कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । उनले अहिले सरकारले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरेकाले यो बजेट पनि पछि आउने सरकारले कार्यान्वयन गर्ने बताए ।
अर्थमन्त्री शर्माले आन्तरिक उत्पादनमा बजेटले जोड दिएको दोहो-याए । उनले पछिल्लो समय मुलुकले भोगिरहेको आर्थिक संकट आउन नदिनको लागि मुलुकभित्र नै आन्तरिक उत्पादनमा जोड दिने गरी बजेट आएको बताए ।
त्यस्तै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमा शिक्षामा लगानी बढेको बताए । उनले विगतको भन्दा थोरै भए पनि शिक्षामा लगानी बढाइएको बताए । मन्त्री शर्माले सरकारले बजेटमा १२ कक्षा पढिसक्दा सीप सिकेर निस्कने व्यवस्था हुने गरि प्राविधिक शिक्षाको परिकल्पना गरिएको बताए । शक्तिलाई सीपयुक्त बनाउने गरी बजेटमा आधारभूत पूर्वाधार बनाएर मेडिकल शिक्षा नेपालमा नै पढाउने व्यवस्था गरिएको मन्त्री शर्माले बताए ।