बजेट देश विकास र समृद्धिको पक्षमा रहेको दावी

वीरगन्ज-अर्थमन्त्री जनार्दन शर्माले देशको विकास र समृद्धिको नीतिमा बजेट आएको बताएका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघको ४६औं साधारसभाको उदघाटनपछि सम्बोधन गर्दै अर्थमन्त्री शर्माले निजी क्षेत्रको सल्लाह र सुझाबमा नै एक तहको फरकमा भन्सार दर कायम गरिएको र कच्चा पदार्थहरुको भन्सार महशुल कायम गरिएको बताए ।
उनले अब नेपालमा उत्पादनमुलक उद्योगको स्थापनाको लागि बाटो सहज भएको बताए । अहिलेको बजेट किसान र मजदुरको हितमा आएको दावी गर्दै अर्थमन्त्री शर्माले किसान र मजदुरले सम्मान पाउनुपर्छ भन्ने मान्यताले नै किसानलाई पेन्सनको बजेटमा व्यवस्था गरेको बताए ।
उद्योगी व्यवसायीलगायत सबै क्षेत्रसँग छलफल, अन्तरकृया र राय सुझावबाट बजेट निर्माण गरेको उनको भनाइ छ । सम्बोधनका क्रममा मन्त्री शर्माले प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ काठमाडौं द्रूतमार्गलगायतका आयोजनामा सरकारले प्राथामिकताका साथ बजेट विनियोजन गरेकोले विमानस्थल निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । देश विकास र समृद्धिको लागि समग्रक्षेत्रलाई समेटेर बजेट आएको भन्दै मन्त्रीशर्माले यो क्षेत्र त्यो क्षेत्रमा बजेट परेन भनेर गुनासो गर्नुभन्दा सिंगो देश विकासका लागि बजेट छ कि छैन भनेर हेर्नुपर्ने बताए ।
वीरगन्जका निजी क्षेत्रले औद्योगिक करिडोर स्थापनाका कुराहरु बारम्बार आइरहेकोले त्यसका लागि उचित जग्गासहितको प्रस्ताव लिएर आउन उद्योगी व्यवसायीलाई आग्रह गरे । औद्योगिक करिडोर घोषणाका लागि आवश्यक मापदण्ड र प्रकृयाका लागि आफू सकारात्मक रहेको भन्दै उनले यसअघि पनि वीरगन्जका उद्योगी व्यवासायीलाई प्रस्ताव लिएर आउन आग्रह गरेको बताए । भारतीय रुपैयाँको सीमामा देखिएका समस्याको सन्दर्भमा प्रधामन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भएको सम्झौताले केही सहज हुने मन्त्री शर्माले विश्वास व्यक्त गरे । उनले भने, “बजेटमा केही विषयहरु छुटेका होलान् ! तर, के गरिबी अन्त्य गर्ने, बेरोजगारी समाधान गर्दै आत्मनिर्भर बनाउन छैन ? वीरगन्ज क्षेत्रका उद्योगहरुलाई उत्पादनमा प्रोत्साहन, बजारीकरण र प्रवद्र्धन गर्नका लागि लिईएका नीतिहरु महत्वपूर्ण छैनन् ? यदि छ भने विकाससँग सम्बन्धित कुरा हो कि होईन ?” व्यापारिक मार्गहरु बजेटको अभावले ढिलो नभएको बताउँदै मन्त्री शर्माले काम गर्ने तरिका र समस्याका कारणले ढिलाई भएको बताए । वीरगन्ज चिनी कारखाना, कृषिऔजार कारखाना चलाउने भनेर नै ६/७ महिना अगाडिदेखि कर्मचारीको पनि व्यावस्था गरिएको उनले बताए । सरकार अविछिन्न उत्तराधिकारी मात्रै रहेकोले मन्त्री नागरिकको सेवक भएकाले पनि अनुगमनको पाटोमा नागरिकको चासो हुनुपर्ने बताए ।
अर्थसचिव मधुकुमार मरासिनीले वीरगन्ज नेपालको लाइफ लाइन भएकाले सधैं उपेक्षामा भनेर नकारात्मक सोच नराख्न आग्रह गरे । वीरगन्ज चिनी कारखाना सञ्चालनकालागि आवश्यक प्रकृया अघि बढाउने बताउँदै सचिव मरासिनीले भने, “चिनी मिल चलाउने भनेर नै बजेटबाटै कुरा उठाइएको छ । यो कुनै मजाक होइन, ६–७ महिना निरन्तरको अध्ययनपछि निष्कर्षको आधारमा राखिएको हो ।”
चिनी सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थ उपलब्ध गराउन वीरगन्ज क्षेत्रका उद्योगी व्यवसायीहरुले पनि सहयोग गर्नुपर्ने उनले बताए ।
अर्थमन्त्री शर्माद्वारा चिनी काराखाना र कृषि औजार कारखानाको निरीक्षण
उद्योग वाणिज्य संघको कार्यक्रममा सहभागी हुनुअघि अर्थमन्त्री शर्माले एकीकृत भन्सार जाँच चौकी, सुक्खा बन्दरगाह भन्सार कार्यालय, वीरगन्ज चिनी कारखानालगायतको स्थलगत निरीक्षण गरेका थिए । प्रस्तुत बजेटमा चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालन गर्ने विषय समावेश गरिएकोले वीरगन्ज आउने क्रममा मन्त्री शर्माले चिनी कारखानाका र कृषिऔजार कारखानाको अवस्थाको स्थलगत निरीक्षण गरेका हुन् । चिनी कारखाना निरीक्षणका क्रममा उनले त्यहाँका कर्मचारीसँग कारखानामा रहेका मेशिन, पाटपूर्जाको विषयमा जानकारी लिएका थिए ।