चितवनमा होटल म्यानेजमेन्ट पढाइको क्रेज बढ्दै «

चितवनमा होटल म्यानेजमेन्ट पढाइको क्रेज बढ्दै

भरतपुर–७ बस्ने मञ्जु आलेमगर नारायणगढस्थित मनास्लु होटलमा काम गर्छिन् । बालकुमारी कलेजबाट कक्षा १२ को पढाइ पूरा गरेकी उनले होटलमा कामगर्दा आवश्यक ज्ञानको कमी भएको महसुस गरिन् । करिब ७ महिनादेखि उनी नारायणगढमा होटल म्यानेजमेन्टको डिप्लोमा कोर्स पढ्दै छिन् ।
“सामान्य रूपमा काम गर्न सके पनि होटलको व्यवस्थापन कसरी गर्ने, पाहुनाको स्वागत कसरीगर्ने, खानेकुराको व्यवस्थापन कसरी गर्ने भन्नेबारे जानकारी थिएन,” नारायणगढस्थित रोयल इन्टरनेसनल कलेज अफ होटल म्यानेजमेन्टमा अध्ययनरत उनले भनिन्, “यस्तै कुराहरू अहिले सिकिरहेको छु ।” सामान्य परिवारमा जन्मिएकी उनको ज्ञान र सीप हासिल गरी ठूला होटलहरूको व्यवस्थापन गर्ने सपना छ । कलेजका प्रबन्ध निर्देशक आशिष घिमिरेका अनुसार २१ महिनाको एडभान्स डिप्लोमा इन् हस्पिटालीटी म्यानेजमेन्ट, १५ महिनाको डिप्लोमा इन् हस्पिटालिटी म्यानेजमेन्ट, १२ महिनाको डिप्लोमा इन् ग्लोबल कुलिनरी आर्टस्लगायतका विषयहरूमा युवाहरूको आकर्षण छ ।
चितवनका प्रायः उच्च माध्यामिक विद्यालयहरूमा होटल म्यानेजमेन्टको पढाई हुन्छ । एसईई परीक्षामा डी प्लस ग्रेडभन्दा माथि ल्याउनेले सहज रूपमा पढ्न पाउने र पढाइ सकेपछि जागिर पाउन सहज हुने हुनाले यस बिषयमा विद्यार्यीहरूको आकर्षण बढ्दो छ । पूर्वी चितवनस्थित प्यारागन उच्चमाविमा होटल म्यानेजमेन्ट विषय अध्यापन गराउँदै आएका विक्की भण्डारी प्रायः युवाहरू विदेशमा काम पाउन सहज देखेर यस विषयमा आकर्षित भएको पाएको बताउँछन् । “प्लस टु सकेपछि डिप्लोमा कोर्स गरेर विदेशका लागि अप्लाई गर्ने प्रचलन बढेको छ,” उनले भने, “नेपालमै केही गरौं भन्नेहरू तुलनात्मक रूपमा कम छन् ।” उच्च माध्यामिक तहमा सैद्धान्तिक ज्ञान धेरै भए पनि प्रयोगात्मक ज्ञानको कमी हुने भएकाले होटल म्यानेजमेन्टका विद्यार्थीहरूले प्रयोगात्मक ज्ञानका लागि अन्य तालिमहरू लिने गर्छन् । तालिम सञ्चालनगर्न स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट संबन्धन लिएर सञ्चालनमा आएका आधादर्जन बढी संस्थाहरू चितवनमा छन् ।
भरतपुर महानगरपालिकाको क्षेत्रपुर बस्ने आयुश तिवारीको लक्ष्य दुबईका ठूला होटलहरूमा काम गर्नेछ । हाल सामान्य जागिरगर्दै डिप्लोमा कोर्स गर्दै गरेका उनी भन्छन्, “काम गर्न सक्ने भएपछि दुबईको तारे होटलमा कामका लागि आवेदन दिने तयारी गर्दैछु ।” चितवनमा अन्य विभिन्न जिल्लाहरूबाट पनि होटल म्यानेटमेन्ट अध्ययनका लागि आउने गर्छन् । यहाँको बालकुमारी कलेज, सप्तगण्डकी बहुमुखी क्याम्पस, नारायणी पव्लिक, अरोमालगायतका कलेजहरू होटल म्यानेजमेन्टको पढाइका लागि देशभरमै अग्रणी मानिन्छन् । यी कलेजहरूमा विभिन्न जिल्लाका किशोर किशोरीहरू भेटिन्छन् । पाल्पा घर भएका मुकेश गिरी विदेश गएर पैसा कमाई फर्किएर नेपालमै पर्यटन व्यवसाय गर्ने सोचका साथ होटल म्यानेजमेन्ट पढिरहेका छन् । अरोमा कलेजबाट उच्च माविको अध्ययन पूरा गरेका कैलाश सापकोटा भने होटल तथा रेस्टुराँ व्यवसायको नेपालमै प्रचुर संभावना देख्छन् । “पढेर व्यवसाय गर्नेको संख्या असाध्यै थोरै छ,” उनी भन्छन्, “हामी जस्ता युवाहरूले सीप सिकेर यहीं केही गर्ने सकिन्छ ।”
चितवनका होटल तथा रेस्टुराँहरूमा पढेर काम गर्दै गरेकाको संख्या निकै कम छ । व्यवसाय गर्र्दै आएकाहरू पनि पढेका थोरै छन् । पढाइ सकेर विदेश जानेक्रम बढेकाले होटल व्यवसायहरू आशातितरुपमा व्यवसायिक बन्न नसकेको बालकुमारी कलेजमा पर्यटन विषय अध्यापन गर्दै आएका शम्भु माझी बताउँछन् । उनका अनुसार बिदेसिने क्रम बढ्नाले होटल म्यानेजमेन्ट बिषयमा उच्च शिक्षा पूरा गरेर अध्यापन गर्ने जनशक्तिको समेत कमी छ ।

 

प्रतिक्रिया दिनुहोस्