पछि हट्यो प्राधिकरण
पुरानै व्यवस्थाअनुसार उडान हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानयोग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स)का आधारमा मात्र उडान गर्न पाउने निर्णय फिर्ता लिएको छ । प्राधिकरणले प्राविधिक अध्ययन र आन्तरिक तयारी पूरा नगरी कार्यान्वयनमा ल्याउन समस्या भएपछि निर्णय फिर्ता लिएको हो ।
प्राधिकरणले १७ जेठमा आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरुले विमानस्थलले दिएको फ्लाइट प्लान क्लियरेन्सका आधारमा मात्र उडान भर्न पाउने निर्णय गरेको थियो । १५ जेठमा पोखराबाट जोमसोम उडान गरेको तारा एयरको विमान दुर्घटना भएसँगै प्राधिकरणले १६ जेठमा उक्त निर्णय गरेको थियो । ‘उडान गर्ने विमानस्थल, बाटोको मौसम (इनरुट) र अवतरण गर्ने विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान अनुमति प्राप्त गर्ने’ निर्णय प्राधिकरणले गरेको थियो । तर जल तथा मौसम विज्ञान विभागले इनरुटको मौसम जानकारी गराउने प्राविधिक र उपकरण नभएकाले विवरण उपलब्ध असम्भव भएको बताएपछि पछि प्राधिकरण पछि हटेको हो ।
निजी वायुसेवा कम्पनीहरुको छाता नेपाल वायुसेवा सञ्चालक संघले पनि प्राधिकरणको निर्णय कार्यान्वयन सम्भव नभएकाले फिर्ता दिन आग्रह गरेको थियो । आफ्नो निर्णय फिर्ता लिँदै प्राधिकरणले शुक्रबार मातहतका ३३ वटा विमानस्थल कार्यालयलाई परिपत्र गर्दै यसअघिकै व्यवस्थाअनुसार उडान गर्न भनेको छ । पत्रमा यसअघिको निर्णयमा इनरुटको व्यख्या परिवर्तन गरेर भनिएको छ, “इनरुटको मौसम भन्नाले जल तथा मौसम पूर्वानुमान महाशाखाबाट उपलब्ध गराउने विमानस्थल अवस्थित प्रादेशिक सेक्टर मौसम सम्झिनुपर्ने व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।”
प्राधिकरणले यसअघि आँखाले हेरेर गरिने अर्थात् भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडानमा प्रस्थान विमानस्थल र गन्तव्य विमानस्थलको मौसमको आधारमा उडान अनुमति दिने गरेको थियो । पछि उसले उडान भर्ने र अवतरण गर्ने विमानस्थलको बाटोको मौसम (इनरुट) अनुमान गरेर मात्र उडान अनुमति दिने अधिकार विमानस्थललाई दिइएको थियो । तर केही दिनमा नै कार्यान्वयनमा समस्या आउने र मौसमको जानकारी दिने निकायले समन्वय अभावका कारण प्राधिकरणले यसअघिकै निर्णय लागू गर्नुगर्ने बाध्यता आएको हो ।
यसअघि विमानस्थलले नै गन्तव्य र उडान गर्ने विमानस्थलको मौसमका आधारमा उडान अनुमति दिने गरेका थिए भने बाटोको मौसम (इनरुट) पाइलटले आकलन गरेर उडान गर्ने गरिएको थियो । उडानका क्रममा बाटोको मौसम सफा छैन भने पाइलटले विमान गन्तव्यमा नपु-याई फिर्ता लिएर आउने गरेका थिए ।