इन्धन खपत कम गर्न देशभरका ट्रकमा एकद्वार प्रणाली

बारा-पेट्रोलियम पदार्थको आयात र खपत कम गर्न नेपाल ट्रक यातायात व्यवसायी महासंघले २० जेठदेखि एकद्वार प्रणालीमार्फत ट्रक ढुवानी गर्ने भएको छ ।
पेट्रोलियम पदार्थको बढ्दो आयातले समग्र अर्थतन्त्रलाई नै धक्का दिएपछि जोखिम रोक्न महासंघले ४ दिनमा एक पटक मात्र एउटा ट्रकले ढुवानी गर्ने गरी एकद्वार प्रणाली सञ्चालन गरेको हो ।
नेपाल आयल निगमको तथ्यांक अनुसार नेपालमा दैनिक ६५ लाख लिटर भन्दा बढि डिजेल खपत हुने गरेको छ । डिजलको मात्रै कुल आयातको ८७ प्रतिशत नेपालमा माल वस्तु ढुवानी गर्न ७० हजार साना ठूला ट्रकहरुमा दैनिक खपत हुँदै आएको महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले एकद्वार प्रणाली अन्तरगत ट्रक सञ्चालन हुँदा हाल भइरहेको खपतमा ४७ प्रतिशत कमी आउने दाबी गरे । उनले आन्तरिक प्रतिस्पर्धामा गुडेको गुड्यै गरेका ट्रकहरु ५० प्रतिशत थन्किने ५० प्रतिशत सञ्चालनमा आउने भएकै कारण खपतमा ह्रास आउने निश्चित भएको बताए ।
निगमको आपूर्ति तथा वितरण विभागका पुष्कर कार्कीले १६ जेठमा ६ लाख २८ हजार १ सय लिटर डिजेल खपत भएको बताए । उनले दैनिक सरदर ५ लाख लिटर डिजल खपत हुने तथ्यांकले देखाउने जानकारी गराए ।
एकद्वार प्रणालीबाट ट्रक सञ्चालन भएपछि करीब २ लाख लिटर डिजल दैनिक खपतमा कम हुने आंकलन गरीएको छ । नयाँ व्यवस्थासँगै ४ दिनमा एक पटक मात्र ट्रक सञ्चालन हुनेछ । नेपालमा एउटा ट्रकले सामान ओसार्दै गर्दा दैनिक १ सय ५० देखि २ सय लिटरसम्म डिजल खपत गर्नेछ ।
तराई यातायात व्यवसायी संघका कार्यबाहक अध्यक्ष हरि अधिकारीले ३० हजार भन्दा बढि भारतीय ट्रकहरु माल वस्तु बोकेर नेपालमा गुड्ने हुँदा तत्कालका लागि सीमासम्म मात्रै भारतीय ट्रकलाई ढुवानी गर्न दिने र नेपालको इन्धन लैजान रोक्न निगमले थाल्नु पर्ने बताए ।
मालसमान लिएर आएका भारतीय ट्रकले भारत फर्कदै गर्दा सिमावर्ती क्षेत्रमा रहेका नेपाली पम्पमा सरदर ४ सय लिटर सस्तो डिजेल भरी फर्कने गरेका छन् । यसमा सरकारी नियमन कमजोर भने हुन नहुने अधिकारीको भनाइ छ ।
महासंघ अन्तरगतका देशभरीका स्थानीय सदस्य संस्थाले एकद्वार प्रणाली अन्तरगत बुटवल, भैरहवा, हेटौडा, पथलैया, सिमरा, चपुर, हरीऔनलगायतका स्थानबाट कार्ड प्रणाली लागु गर्ने छ ।
यो प्रणाली सञ्चालन भएसँगै पुँजी पलायनको ठूलो रकम रोकिन सहयोग पुग्ने, सडक पूर्र्वाधारको क्षतिमा कमी हुने र सडक दुर्घटनामा मानवीय क्षति न्युनिकरण हुने महासंघले जारी विज्ञप्तिमा उल्लेख छ ।
केही व्यवसायीले भने ४ दिनमा पालो आउने ट्रकमा २ टन मात्रै भए पनि लोड थप गर्न सरकारी अनुमति दिए उहि इन्धनमा हुने एउटै खर्चले धेरै परीमाणको काम हुन सक्ने महासंघमार्फत सरकारलाई सुझाएका छन् ।
सरकारले २ जेठदेखि लागु गरेको ढुवानी भाडा उद्योगका सेल्सका कर्मचारी र ट्रान्सपोर्टको सेटिङ्गमा कमिशन लिएर ढुवानीका साधनलाई कम दिने बिकृतिसमेत यो प्रणालीले अन्त्य गर्ने भएपछि व्यवसायीहरु उत्साहित बनेर यो प्रणालीमा सञ्चालन हुने जनाएका छन् ।
स्थानीय संघहरुले आफना सदस्य ट्रकहरुलाई सम्पर्कमा राखेर आवश्यक सामान र सरकारले तोकेको भाडा दर दिने उद्योग र ट्रान्सपोटलाई मात्रै ट्रक उपलब्ध गराउने यो प्रणालीको व्यवस्था गरिएको हो ।
यो प्रणाली दिगो रुपमा सञ्चालनमा आए नेपाल भित्रकै ट्रक आन्तरिक किनबेच हुनेछ भने ट्रक आयातमा स्वतः कमी हुने छ । नेपालमा सञ्चालित पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरकै लयमा सञ्चालन विधि बन्ने निश्चित छ ।