Logo

अर्थमन्त्रीले स्वास्थ्य बिमा नबुझेको आरोप

नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा सम्बन्धित कार्यलाई अर्थमन्त्री जनार्दन शर्माले बुझ्न नसकेको टिप्पणी गरेका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पोखरेलले अर्थमन्त्री जनार्दन शर्माले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा सम्बन्धित कार्यलाई बुझ्न नसकेको बताए । स्वास्थ्य बिमा सरकारले सामाजिक उत्तरदायित्वसँग गाँसेर ल्याएको र निजी क्षेत्रले ल्याएको बिमा जस्तो नभएकोले कम्पनीलाई दिनु नहुने उनको भनाइ छ । उनले बजेटमा स्वास्थ्य बिमा कम्पनीलाई दिने उल्लेख गरिएको भन्दै अर्थमन्त्रीले यसलाई पुनरावलोकन गर्नुपर्ने बताए ।
सांसद पोखरेलले स्वास्थ्य बिमा कम्पनीलाई दिने कुरा युनिभर्सल कभरेजको कन्सेप्टबाट आएको बताए । उनले सरकारले ल्याएको स्वास्थ्य बिमा नाफा र नोक्शानको कोणबाट नआएको बताए । उनले विश्वस्वास्थ्य संगठनसँग जोडिएर बनाएका संरचनासँग पनि स्वास्थ्य बिमा कम्पनीलाई दिने कुरा मेल नखाने दावी गरे । यो स्वास्थ्य मन्त्रालयसँग नै सबन्धित भएको तर अर्थ मन्त्रालयतिर लैजान खोजिएको जस्तो देखिएको उनको भनाइ छ ।
सांसद पोखरेलले त्रिभुवन विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्सको रुपमा अघि बढाउने कुरा सकारात्मक रहेको बताए । उनले सबै विश्वविद्यालयहरुको पुनः संरचना गर्नुपर्ने र साझा सूचिमा परेका विश्वविद्यालयहरुलाई प्रदेश र संघले कुन कुन हेर्ने भन्ने कुरा छुट्याउन आवश्यक रहेको पनि बताए । उनले त्रिभुवन विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्सको रुपमा लगिरहँदा देशभर त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कलेजहरुलाई प्रादेशिक विश्वविद्यालय बनाएर हल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्