Logo

परिसंघको पर्यटकका लागि सँगै अभियान

नेपाल उद्योग परिसंघले भारतीय र बंगलादेशी पर्यटक लक्षित ‘समर टुरिजम क्याम्पेन’ सञ्चालन गरेको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभियानको सुभारम्भ गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ पछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटकलाई आकर्षित गर्न यो अभियान सञ्चालन गरेको बताए । हाल भारत एवं बंगलादेशमा गर्मी उच्च रहेकाले गर्दा गर्मी मौसममा भारतीय तथा बंगाली नागरिकलाई आकर्षित गर्ने ‘समर टुरिजम क्याम्पेन’ अन्र्तगत पर्यटनको लागि सँगै ‘गर्मी से वेहाल चलो नेपाल’ भन्ने अभियान सञ्चालन गरेको बताए ।
“नेपालमा पर्यटन नै विदेशी मुद्रा आर्जन हुने मुख्य माध्यम भएकाले परिसंघले नेपालको पर्यटन प्रबद्र्धन गर्न र पर्यटक भित्र्याउन यो अभियान सञ्चालन गरेको हो” उनले भने । कोभिडबाट प्रभावित पर्यटन उद्योगको प्रबद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यले अभियान सञ्चालन भएको हो । यसबाट भारतीय र बंगलादेशीसहित पर्यटकको आगमन दरमा वृद्धि हुने छ ।”
भारत र बंगलादेश दु्रत रुपमा वृद्धि भइरहेको बजार हो । ती देशको आर्थिक वृद्धि पनि उच्च छ । नेपालसँग हवाई सञ्जाल राम्रो र सहज पनि भएकाले यी देशका नागरिक अन्य मुलुकमा भ्रमण गर्नुभन्दा नेपालमा आउन सहज हुने परिसंघले जनाएको छ । तर, उनीहरुलाई हाम्र्रो गन्तव्य, मौसमको बारेमा जानकारी गराएर प्रसार गर्नु पर्नेमा परिसंघको जोड छ ।
सन् २०२२ को पछिल्लो मे महिनामा भारतबाट २६ हजार ६ सय २२, बंगलादेशबाट ३ हजार २ सय पर्यटन नेपाल आएका छन् । सन् २०१९ मा २ करोड ६३ लाख बढी भारतीय अन्य मुलुकको भ्रमण गएको तथ्यांक छ । यस्तै सोही अवधिमा २५ लाख बंगलादेशी नागरिक पनि अन्य मुलुकमा भ्रमणका लागि निस्किएको तथ्यांक छ ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहले भारत र बंगलादेशको उच्च गर्मीबाट शीतलता खोजीरहेका भारतीय र बंगलादेशी पर्यटकका लागि नेपालको मौसम अनुकूल रहेकाले यो अभियानले उनीहरुलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे ।
परिसंघका महानिर्देशक दीपकराज जोशीले भारत र बंगलादेशमा रहेका परिसंघको नेटवर्कबाट पनि यो अभियान प्रबद्र्धन गरिने बताए । परिसंघले भारतमा अल इन्डिया एसोसिएसन अफ इन्डस्ट्रीज, फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीज, फेडेरेसन अफ इन्डियन चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रीज, पीएचडी च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीसँग सहकार्य गर्दै आएको छ । यस्तै बंगलादेशको मेट्रोपोलिटीन च्याम्बर अफ कमस एण्ड इन्डस्ट्री, र ढाका च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीसँग पनि परिसंघले सहकार्य गर्दै आएको छ । यो अभियान यी संस्थामार्फत पनि ती देशमा प्रबद्र्धन गरिने जोशीले बताए । यस्तै भारत र बंगलादेशमा रहेका पर्यटनसँग सम्बन्धित संस्थाहरुसँग पनि परिसंघले अन्तर्राष्ट्रिय रुपमा समन्वय र सहकार्य गर्दै आएको छ ।
परिसंघको पर्यटन समिति सभापति पम्फा धमलाले नजिकको छिमेकीबाट यो अभियान सञ्चालन गर्न लागिएको जानकारी गराइन् । उनले यो अभियानले नेपालको पर्यटन प्रबद्र्धनमा निकै सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्