Logo

बर्डफ्लुका कारण कुखुरा नष्ट गरेका चितवनका ३४ किसानले पाएनन् सहयोग

भरतपुर-बर्डफलुका कारण कुखुरा नष्ट गरेका चितवनका किसानहरु क्षतिपूर्ति पाउन वञ्चित भएका छन् ।
राहतको पर्खाइमा रहेका किसानले अहिलेसम्म सरकारी सहयोग पाउन सकेका छैनन् । २०७५ कात्तिकदेखि हालसम्म चितवनका ३४ फर्मका कुखुरा, हाँस नष्ट गरिएको थियो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार हालसम्म ३ लाख ५८ हजार ४ सय ११ लेयर्स, ६ सय ४६ वटा ब्रोइलर, ८ सय ९६ वटा कडकनाथ, ३५ वटा हाँस, ८ बट्टाई, ३ हजार ४ सय ७६ प्यारेण्ट ब्रोइलर, ६ हजार टर्कीका ब्रिडिङ अण्डा, १ हजार ३ सय ८० वटा गिरिराजका अण्डा, ४० केजी मासु, १ हजार कार्टुन नष्ट गरिएको थियो । झण्डै २६ करोड बराबरको क्षतिपूर्ति दिनुपर्ने देखिएको छ ।
विज्ञ केन्द्र चितवनका सूचना अधिकारी प्रभात न्यौपानेले राहत वितरणका लागि विवरण संकलन गरेर राखिएपनि रकम सहयोग गर्न नसकिएको बताए । “क्षति विवरण संकलन गरेर राखेका छौं, विभागबाट राहत वितरणको मापदण्ड र बजेट नआएकाले सहयोग गर्न सकिएको छैन” उनले भने, “छिटै राहत वितरण हुने अपेक्षा लिएका छौं ।”
‘बर्डफ्लु नियन्त्रण नियमावली २०७८’ जारी भएपनि मापदण्डबारे स्पष्ट नीति नहुँदा किसानले क्षतिपूर्ति पाउन ढिलाइ भएको छ । बर्डफ्लू नियन्त्रण आदेश २०६४ मा क्षतीको आधारमा बजार मूल्यको ७५ प्रतिशत क्षतिपूर्ति दिने व्यवस्था थियो । खटिएका कर्मचारीले समेत प्रोत्साहन भत्ता पाएका थिए । तर, यस वर्ष नियमावलीले क्षतिपूर्तिको मापदण्ड बनाउन नसक्दा किसान अन्यौलमा परेका छन् । राप्ती–६, भरतपुर–८, १६, २३, २४, खैरहनी–१, २, ३, ६, १०, १२, रत्ननगर–१० का केही फर्ममा बर्डफ्लु संक्रमणको जोखिमका कारण कुखुराहरु नष्ट गरिएको थियो ।

अफ्रिकन स्वाइन फिभरको संक्रमण जोखिम
चितवनमा अफ्रिकन स्वाइन फिभरको संक्रमण भित्रिन नदिन सचेतना अपनाइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले संक्रमण फैलिन नदिन बंगुर तथा सुंगुरपालक किसानलाई स्वाइन फिभरबारे सचेत रहन आग्रह गरेको छ । बिहीबार जैविक सुरक्षा तथा एण्टी बायोटिक रेसिड्यु सम्बन्धि सचेतना गोष्ठी गर्दै स्वाइन फिभर भित्रिन नदिन उच्च सावधानि अपनाउन किसानहरुलाई आग्रह गरिएको छ । बर्डफ्लुले जस्तै खोरनै रित्याउने भएकाले किसानहरुलाई सावधानी अपनाउन जैविक सुरक्षामा ख्याल गर्न अनुरोध गरिएको छ ।
विज्ञ केन्द्र चितवनका प्रमुख सुशील केसीले पशु फार्महरूमा सरसफाइ र स्वस्थ आहारामाथि विशेष ख्याल गर्न आग्रह गरे । “बंगुर तथा सुंगुरका पाठापाठी ओसारपसारमा विशेष ख्याल गर्न जरुरी छ”, उनले भने, “संक्रमित बंगुरहरूले महिनौंसम्म रोगको बाहक बन्ने भएकाले बेलैमा रोग पहिचान गर्नुपर्छ ।” स्वाइन फिभर संक्रमण पुष्टी भएका बंगुर नष्ट गरेर फैलिनबाट जोगाउनुपर्ने उनले बताए । चितवनमा अफ्रिकन स्वाइन फिभर नभित्रिए पनि संक्रमणको जोखिम कायमै रहेको बताए । राष्ट्रिय पंक्षी रोग अन्वेशषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक चेतनारायण खरेलले कुनै खोप वा निश्चित औषधि उपलब्ध नभएकाले उच्च सावधानी अपनाउनुपर्ने बताए ।
“संक्रमण फैलिए खोरनै रित्तिने जोखिम हुन्छ”, उनले भने, “मानिसमा नसरेपनि खोरका बंगुरहरु जोगाउन कठिन हुने भएकाले बेलैमा सतर्क हुनु जरुरी छ ।” अफ्रिकन स्वाइन फिभर’ सबैभन्दा पहिले सन् १९२१ मा अफ्रिकाको केन्यामा देखिएको थियो । नेपालमा पहिलो पटक २ जेठमा काठ्माडौंको कागेश्वरीमा देखिएको थियो । काठ्माडौं उपत्यकामा हालसम्म १ हजार भन्दा बढी बंगुर तथा सुंगुर संक्रमणका कारण मरेका छन् । पशु विकास अधिकृत रामचन्द्र आचार्यले स्वाइन फिभरको भाइरस लामो समयसम्म बाँच्ने भएकाले संक्रमणको जोखिम बढी हुने बताए ।
उच्च ज्वरो आउने, बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना अरुची हुने, पखला लाग्ने, हिडडुल गर्न नसक्ने जस्ता लक्षण देखिएका बंगुर तथा सुंगुरहरुको बेलैमा स्वास्थ्य परीक्षण गर्न आग्रह गरे । शंका लागेका पशुलाई बथानबाट अलग्गै राख्न उनको सुझाव छ । चितवनमा १६ हजार ८ सय ५८ वटा बंगुर तथा सुंगर रहेको अनुमान छ । नेपालमा १५ लाख १९ हजार ५ सय ९३ बंगुर तथा सुंगर रहेको अनुमान छ ।
जसमध्ये बामगती प्रदेशमा १ लाख ७२ हजार २ सय ७७ वटा रहेको अनुमान छ । नेपालमा वार्षिक २९ हजार ४ सय ९३ मेट्रिक टन बंगुर तथा सुगुरको मासु उत्पादन हुने अनुमान छ । भरतपुर महानगर क्षेत्रमा मात्रै २१ वटा फर्महरुले बंगुर तथा सुंगुरका पाठापाठी उत्पादन गर्दै विक्रिवितरण गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्