बजेटले वनस्पति घ्यूजन्य उद्योगलाई थप संकटमा धकेलेको आरोप

नेपाल वनस्पति घ्यू, तेल उत्पादक संघले आगामी आवको बजेटमा रहेका कतिपय नीति विरोधाभाषपूर्ण रहेको बताएको छ ।
यसले वनस्पति घ्यू, तेल उद्योगलाई थप संकटमा धकेल्ने संघले ठहर गरेको छ । संघका अनुसार यसले यो क्षेत्रमा गम्भीर र दीर्घकालीन असर पर्नेछ । हाल नेपालमा कच्चा पदार्थ १० प्रतिशत भन्सार महसुुलमा आयात गरी सोको प्रशोधन गरी उद्योगहरुले बिक्री वितरण गर्दै आएका छन् ।
प्रशोधित तेलमा आयात महसुल १५ प्रतिशत थियो जुुन कच्चा पदार्थभन्दा एक तह मात्र बढी रहेको अवस्थामा हाल सरकारले ल्याएको आ.व. २०७९/८० को बजेटबाट विशेष उद्योगहरुलाई प्रशोधित पाम र पामोलीन तेल आयात गर्न ५ प्रतिशत भन्सार महसुल, अर्थात् हाल/साविकको व्यवस्था मा ६६.६७ प्रतिशत छुट दिई तयारी मालभन्दा कच्चा पदार्थको भन्सार महसुल एक तह कम हुने नीति विरोधाभाषपूर्ण रहेको संघले उल्लेख गरेको छ ।
यसले गलत तरिकाबाट औद्योगिक विकासमा गम्भीर असर पुुग्ने र दीर्घकालीन प्रभाव पर्ने देखिएको संघले जनाएको छ ।
यो नीतिले कच्चा पदार्थभन्दा बढी मूल्यमा तयारी मालसामान आयात हुने र विदेशी मुद्रा बाहिरिने संघले उल्लेख गरेको छ । त्यस्तै कच्चा पदार्थमा तिर्दै आएको १० प्रतिशत भन्सार महसुलभन्दा तयारी सामानमा ५ प्रतिशत महसुल तिर्दा सरकारको राजस्वमा गम्भीर असर पर्न जाने संघले दाबी गरेको छ ।
सरकारको स्थानीय उद्योगलाई बढावा दिने र तयारी वस्तुभन्दा कच्चा पदार्थको भन्सार १ तह कम हुने नीतिसँग अमिल्दो रहेको पनि उल्लेख गरिएको छ । यसबाहेक पछिल्लो नीतिले तयारी सामानको आयात बढ्ने र उत्पादन घट्ने संघले जनाएको छ । अर्थतन्त्रमा मूल्यअभिवृद्धि र ब्याकवार्ड इन्टिग्रेसन, रोजगारी, विद्युत् खपत, आयकरजसता अन्य सूचकहरुमा प्रत्यक्ष असर पर्न जाने संघले उल्लेख गरेको छ ।