व्यवसायी बस्नेतको हत्यारालाई पक्राउ गर्न माग गर्दै प्रदर्शन «

व्यवसायी बस्नेतको हत्यारालाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

विराटनगर-मोरङको पथरीशनिश्चरेकी व्यवसायी रीना बस्नेतको रहस्यमय मृत्युको यथार्थ छानबिनको माग गर्दै स्थानीय आन्दोलित भएका छन् । बस्नेत पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिइन् ।
रीनाको हत्या भएको दाबीसहित आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । आन्दोलित पक्षले पथरीको इलाका प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेर गेट तोडफोड गर्न खोजेपछि प्रहरीले २ राउण्ड हवाइफायर गरेको थियो । प्रहरीको लाठीचार्ज र प्रदर्शनकारीको ढुंगा प्रहारबाट केही व्यक्ति घाइते भएका छन् । आन्दोलनमा उत्रिएका स्थानीयले नगरपालिकाविरुद्ध समेत नाराबाजी गर्दै कार्यालयको गेट तोड्नुका साथै कार्यालयमा तालाबन्दी गरेका छन् ।
पथरी उद्योग वाणिज्य संघको कार्यालयमा समेत तालाबन्दी गरी सयौंको भीड इलाका प्रहरी कार्यालयबाहिर नाराबाजीमा उत्रिएको थियो । बिहानैदेखि पथरी बजारका पसलहरू बन्द गरेर स्थानीय आन्दोलित बनेका हुन् । साढे १० बजेदेखि स्थानीयले यातायातसमेत अवरुद्ध गरेर लगातार नाराबाजी गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी घनश्याम श्रेष्ठको नेतृत्वको टोलीले घटनाको छानबिनको जिम्मा लिएको छ । यसैबीच रीना बस्नेतको रहस्यमय मृत्युसँग जोडिएका सुन्दरहरैंचा–३ बस्ने ३८ वर्षीय कमल नेपाललाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई बेलबारी क्षेत्रबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल बजगाईंले बताए । रीनालाई दिनभरि र राति अबेरसम्म पनि फोन गरेका नेपाललाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पथरीशनिश्चरे–१ त्रिवेणी चोक डेरा बस्ने रीनाको शव वैशाख ७ गते बिहान स्थानीयले फेला पारेका थिए । बस्नेतको शव डेरा अगाडि सडकमा नग्न अवस्थामा फेला परेको थियो । बस्नेतका श्रीमान वैदेशिक रोजगारीमा छन् । रीना १३ वर्षीय छोरासँग बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्