Logo

बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुन्छ

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी छन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उनले बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुने बताएकी हुन् ।
बुधबार काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैं तयार रहेको समेत बताइन् । “तत्काललाई काठमाडौंको फोहोर व्यवस्थापन बन्चरेडाँडामा पुरानै किसिमले गरे पनि यसको वैज्ञानिक व्यवस्थापन जरुरी छ । महानगरसँग मन्त्रालय सधैं सँगसँगै मिलेर काम गर्न तयार छ,” उनले भनिन् ।
उनले काठमाडौं महानगरपालिकाभित्र युटिलिटी करिडोर निर्माणको कामसमेत मन्त्रालयले गर्न लागेकाले सहकार्य जरुरी रहेको उनको भनाइ थियो । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले बन्चरेडाँडाँ ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जनका लागि मन्त्रालयसँग सहयोग गर्नुपर्ने भन्दै यस विषयमा मन्त्रालयले गरेका प्रतिबद्धता शतप्रतिशत कार्यान्वयन गर्न अनुरोध गरे ।
यस्तै उनले काठमाडौंको फोहोर बन्चरेडाँडामा तत्काल कसरी फोहोर विसर्जन भन्ने विषयमा स्थानीयबासीलाई सहमत गर्न सकिन्छ भन्ने विषयमा पनि सहजीकरण गरिदिन समेत आग्रह गरे ।
कार्यक्रममा बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहराले बन्चरेडाँडामा तत्काल फोहोर व्यवस्थापन गर्न सकिने गरी काम सम्पन्न भइसकेको जानकारी दिए । उनले बन्चरेडाँडाको दीर्घकालीन र वैज्ञानिक फोहोर व्यवस्थापनका लागि घरघरमै फोहोर वर्गीकरण गरेर संकलन गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्