एनएमबि बैंक र वैकल्पिक ऊर्जा केन्द्रबीच सम्झौता

एनएमबि बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र/केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच सम्झौता भएको छ ।
सम्झौतासँगै मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवद्र्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रमअन्तर्गत कर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो ।
यो सम्झौताको मुख्य विशेषता बैंकले उल्लेखित प्रदेशमा नवीकरणीय ऊर्जाका परियोजनामा गरेको कर्जा लगानीको भुक्तानी नभएमा त्यस्ता कर्जामा कोषले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्नेछ । यसले एनएमबि बैंकलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तार गर्नको लागि सहयोग मिल्ने बताइएको छ ।
एनएमबिले दीगो बैंकिङमार्फत देशमा वास्तविक अर्थतन्त्रको प्रवद्र्धनको लागि साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखि कार्य गर्दै आएको जनाएको छ । बैंकले स्वच्छ ऊर्जाको प्रवद्र्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दीगो तरीकाले रूपान्तरण गर्ने बताइएको छ ।