नेपाली आकाश कति सुरक्षित

पोखराबाट जोमसोमका लागि गएको आइतबार उडेको तारा एयरको बेपत्ता विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला प-यो । स्थानीयहरूले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका हुन् भने पछि खोजी टोली पुगेको थियो । दुर्घटनाग्रस्त जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रु सवार थिए । आइतबार दिनभर खोजी गरिए पनि नभेटिएपछि सो दिन खोजी कार्यलाई स्थगित गरिएको थियो । सोमबार बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवैतर्फबाट खोजी सुरु गरिएको थियो । सो दिन फेला प-यो जहाज र जहाजमा सवार सबै जनाको मृत्यु भइसकेको थियो । दुर्घटनाको प्रारम्भिक कारण खराब मौसमलाई लिन सकिन्छ । नेपालमा हुने अधिकांश हवाई दुर्घटना खराब मौसमका कारण भएको देखिन्छ । यसबाट नेपाली आकाश सुरक्षित छैन भन्ने पटक–पटकका दुर्घटनाले बताउँदै आएका छन् ।
हवाई उड्डयनसम्बन्धी विभिन्न नियम–कानुन बनाउने सम्पूर्ण जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणमा निहित छ । हरेक विमानस्थल आवश्यक उपकरण, प्राविधिकसहितको प्रविधि, कर्मचारी व्यवस्थापन, हवाईमार्ग अनुमतिलगायत हवाईसँग सम्बन्धित कार्यको पूर्ण जिम्मेवारी संस्था भनेकै नेपाल नागरिक उड्डयन प्राधिकरण हो । सन् १९५७ मा औपचारिक स्थापना भएको नागरिक उड्डयन विमानस्थल सञ्चालनमा सुरक्षित, कुशल र गुणस्तरीय सेवा सुनिश्चित गर्ने लक्ष्य नागरिक उड्डयन प्राधिकरणको रहेको छ । यतिमात्र नभई हवाईको माध्यमबाट व्यापक रूपमा पर्यटन प्रवद्र्धन र पहुँचको माध्यमबाट हवाई सेवालाई उच्च आर्थिक वृद्धिको प्रभावकारी वाहन बनाउने प्राधिकरणको भिजन रहेको छ ।
प्राधिकरणको भिजनलाई हवाई सुरक्षाले चुनौती दिइरहेको छ । त्यसैले पनि हुनुपर्छ, हवाई क्षेत्रमा दिनप्रतिदिन विश्वसनीयता खस्किँदै गइरहेको छ । हाम्रो मुलुकको भूबनोट अन्यत्रको भन्दा भिन्न छ । भौगोलिक बनावटका कारण सहज रूपमा कतिपय जिल्लामा सडक यातायातको उपलब्धता सहज छैन । भएका स्थानहरूमा पनि सर्वसुलभ हुन सकिरहेको छैन । त्यसै कारण मोटरबाटोको असुविधा भएका विभिन्न जिल्लाहरूमा हवाईमार्गबाहेक अन्यको विकल्प नै छैन । डाँडाकाँडा, उच्च हिमाली क्षेत्र, त्यसमाथि प्रतिकूल मौसमका बाबजुत हवाई सेवा प्रदान गरिरहँदा हवाई सेवाप्रदायक कम्पनीलाई पनि जोखिम भने रहेकै छ । केही समयअगाडिसम्म राम्रो भएको मौसम क्षणभरमै खराब बनिदिँदा पहाडी र उच्च हिमाली क्षेत्रमा हवाई दुर्घटना हुने गरेको पाइन्छ, जसको पछिल्लो उदाहरणका रूपमा तारा एयरको विमान दुर्घटनालाई लिन सक्छौं । हाम्रो मुलुकमा विशेष गरी हिमाली जिल्ला जोमसोम, जुम्ला, हुम्ला, लुक्ला, डोल्पालगायतका क्षेत्रमा आन्तरिक वायुयानहरू दुर्घटना परिरहेका हुन्छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकलाई आधार मान्ने हो भने हालसम्म नेपालमा १ सयभन्दा बढी हवाई दुर्घटना भएका छन् । ती दुर्घटनाबाट झन्डै ९ सय चालक दलका सदस्यसहितका यात्रुले ज्यान गुमाइसकेका छन् । यस्ता दुर्घटना हुने प्रमुख कारण खराब मौसम, भौगोलिक बनावट, मानवीय त्रुटि, त्यस्तै कतिपय अवस्थामा जहाजमा आउने प्राविधिक समस्यानै प्रमुख हुने गर्छ । नेपालको आकाशमा बारम्बार यस्ता दुर्घटना बढिरहँदा प्राधिकरणले थप नियम–कानुनको कडा व्यवस्था गरी नेपाली आकाशलाई अझ सुरक्षित बनाउनुपर्ने देखिन्छ ।