Logo

जिसस लमजुङको निर्वाचन २६ जेठमा

लमजुङ– स्थानीय तह निर्वाचन अन्तर्गत लमजुङमा यही जेठ २६ गते जिल्ला समन्वय समिति निर्वाचन हुने भएको छ । जिल्लाका सबै स्थानीय तहहरुमा कार्यपालिका सदस्य निर्वाचन सम्पन्न भएसँगै जिल्ला समन्वय समितिको निर्वाचन तयारी भएको हो ।
जिल्ला समन्वय समिति निर्वाचनका लागि बिहिबार जिल्ला सभा भएको छ । जिल्ला सभाले प्रमुख उपप्रमुख सहित नौ सदस्यीय समितिका लागि निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अनुरोध गरेको हो । जिसस निर्वाचन कार्यविधी अनुसार जिल्ला सभाले बढिमा सात जनासम्म सदस्य राख्न पाउने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अनुरोध गर्नुपर्ने प्रावधान छ ।
जिल्लासभाको निर्णय र अनुरोध पत्र बमोजिम मुख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी २६ गने निर्वाचन गर्ने गरी समय तालिका निर्धारण गरेको हो । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार जिसस निर्वाचनका लागि २४ गते उम्मेदारी मनोनयनको समय तालिका रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिसस निर्वाचनका लागि २० गते मतदाता नामावली प्रकाशन गर्ने, २१ गते मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, २२ गते संशोधित मतदाताको नामावली प्रकाशन गर्ने, २३ गते मतदाताको विरोधमा उजुरी दिने र सोहि दिन उजुरी उपर जाँच गरी अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ ।
त्यसैगरी २४ गतेका दिन उम्मेदारको मनोनयन दर्ता, उम्मेदारको सुची प्रकाशन गर्ने रहेको छ । २५ गते उम्मेदार उपर उजुरी, सोहि दिन जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदारको नामावली प्रकाशन गर्ने, उम्मेदारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।
स्थानिय तह निर्वाचनको मत परिणाम अनुसार जिल्ला समन्वय समिति लमजुङमा नेकपा एमालेको बहुमत देखिएको छ । आठ स्थानिय तह रहेको जिल्लामा निर्वाचित पालिका प्रमुख र उपप्रमुखको संख्या अनुसार जिससमा नेकपा एमालेको बहुमत देखिएको हो । जिल्ला समन्वय समितिको निर्वाचन प्रावधान अनुसार लमजुङमा १६ मत भार रहेको छ । निर्वाचन कार्यविधी अनुसार आठ स्थानिय तहका प्रमुख र उपप्रमुखहरु जिल्ला समन्वय समिति निर्वाचनको मतदाता हुनेछन् । जिल्ला समन्वय समितिका लागि १६ मत मध्ये नौ मत नेकपा एमालेको रहेको छ भने नेपाली काँग्रेसको पाँच मत र नेकपा माओबादीको दुई मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्