रुकुममा ७५ करोड बेरुजु «

रुकुममा ७५ करोड बेरुजु

रुकुम-महालेखा परीक्षकको ५६ औैं प्रतिवेदन अनुसार रुकुम पूर्व र पश्चिमका ९ स्थानीय तहमा आर्थिक वर्ष २०७४÷७५ मा ७५ करोड रूपैयाँभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बजेट अनियमित तवरले खर्च गरेको बेरुजु देखाएको हो । रकमान्तर नगरी विनियोजितभन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, जनप्रतिनिधिले बैठक, भ्रमण भत्ताको नाममा दोहोरो सुविधा लिएको, सार्वजनिक खरीद ऐनको प्रतिकूल हुने गरी निर्माणमा उपकरण प्रयोग गरेको, प्रतिस्पर्धा विना सामग्री खरीद र योजनाको काम गरेको जस्ता कमजोरी प्रतिवेदनले देखाएको हो ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । आठबिसकोट नगरपालिकामा १४ करोड बढी रकम बेरुजु प्रतिवेदनमा देखिएको छ । त्यस्तै मुसिकोट नगरपालिकामा ९ करोड, चौरजहारी नगरपालिकामा ८ करोड, बाँफिकोट गाउँपालिकामा ६ करोड, सानीभेरीमा ७ र त्रिवेणी गाउँपालिकामा ८ करोड बढी रकम बेरुजु देखिएको छ । 

नयाँ जिल्ला बनेको रुकुम पूर्वमा सवैभन्दा बढी पुथा उत्तरगंगा गाउँपालिकमा १२ करोड भन्दा बढी बेरुजु देखिएको छ । त्यस्तै भूमे गाउँपालिकामा ५ र सिस्ने गाउँपालिकामा ६ करोड बेरुजु देखिएको हो ।
जिल्ला समन्वय समिति रुकुममा पनि बेरुजु देखिएको छ । तर जसरी स्थानीय तहहरूमा करोडौं रकम बेरुजु देखिएको भए पनि जिल्ला समन्वय समिति रुकुममा भने खासै ठूलो रकम छैन । महालेखा परीक्षकको प्रतिवेदन अनुसार २ लाख १७ हजार रूपैयाँ मात्र बेरुजु देखिएको छ । अघिल्ला वर्षहरूमा जिल्ला विकास हुँदा ठूलो रकम बेरुजु देखिने गरेको भए पनि विकास बजेट स्थानीय सरकारहरूमा नै गएका कारण पनि यसरी थोरै रकम मात्र बेरुजु देखिएको हो ।
महालेखा परीक्षकको प्रतिवेदनमा रुकुमका केही विषयहरूमा ठूलो समस्याको रूपमा देखापरेको भन्दै नामै किटान गरेर बेरुजु हुनुको कारण स्पष्ट गरेको छ । जसमा मापदण्ड भन्दा बढी भुक्तानी हुनु पनि हो । निर्माण कार्यमा प्रयोग भएको एक्साभेटर भाडा तथा ईन्धनको रकम भुक्तानी नियमभन्दा बढी भुक्तानी हुँदा बेरुजु देखाएको छ । रुकुम पश्चिमका ३ नगरपालिका र २ गाउँपालिकाले एक्साभेटरको खर्च भुक्तानीमा करिब २ करोड नियम विपरित भुक्तानी दिएका छन् । त्यस्तै उपभोक्ता समिति मार्फत गरिएको निर्माण कार्यको लागत अनुमानमा ओभरलोड समावेश गरी भुक्तानी गरि दिन नमिल्नेमा रुकुमको मुसिकोट नगरपालिकाले करिब ९ लाख रकम भुक्तानी गरेको पाइएको छ । नियम विपरित भुक्तानी भएको ओभरहेड रकम असुल हुनुपर्छ ।

बेरुजु रकमको विवरण

मुसिकोट नगरपालिका : ९ करोड ३३ लाख

चौरजहारी नगरपालिका : ८ करोड ५८ लाख

आठबिसकोट नगरपालिका : १४ करोड २२ लाख

बाँफिकोट गाउँपालिका : ६ करोड ७३ लाख

त्रिवेणी गाउँपालिका : ८ करोड २४ लाख

सानीभेरी गाउँपालिका : ७ करोड ५ लाख

पुथाउत्तरगंगा गाउँपालिका : १२ करोड २४ लाख

भूमे गाउँपालिका : ५ करोड ६ लाख

सिस्ने गाउँपालिका : ६ करोड ५८ लाख
प्रतिक्रिया दिनुहोस्