Logo

रंग उद्योगको कच्चा पदार्थमा भन्सार महशुल पुनर्विचार गर्न माग

वीरगन्ज-सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि सार्वजनिक बजेटमा केही पुनर्विचार गर्नुपर्ने उद्योगी–व्यवसायीहरुले प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले संसद्मा प्रस्तुत गरेको बजेटमा यसपटक निजी क्षेत्र उत्साहित छ । तर, केही कच्चा पदार्थमा भन्सार महशुल वृद्धि गरेकोले यसलाई पुनर्विचार गर्नुपर्ने उनीहरुको भनाइ छ । खासगरी स्वदेशमा आत्मनिर्भर उन्मुख भएको रंग उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा गरिएको भन्सार महशुल वृद्धिमा सरकारले पुनर्विचार गर्नुपर्ने उनीहरुको भनाइ छ ।
स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ र भारतबाट आयात गरिने तयारी वस्तुको भन्सार महशुल दर समान हुँदा स्वदेशी उद्योगहरु धरासायी हुने भन्दै उद्योगी–व्यावसायीहरुले समान भन्सार दरलाई परिमार्जन गर्न माग गर्दै आएका छन् । यसपटकको बजेटमा भन्सार महशुल दरमा व्यापक हेरफेर गरे पनि स्वदेशमा आत्मनिर्भर उन्मुख रंग उद्योगहरुमा प्रयोग गरिने कच्चा पदार्थको भन्सार दरमा वृद्धि गरिएकोले त्यसलाई पुनर्विचार गर्नुपर्ने उद्योगी अशोक वैदले बताए ।
उनले भने, “नेपालमा स्थापना गरिएका बहुराष्ट्रिय कम्पनीका रंग उद्योगहरुको उत्पादनले नेपाल रंगमा आत्मनिर्भर उन्मुख रहेको अवस्थामा केही कच्चा पदार्थमा गरिएको भन्सार महशुल दर वृद्धिले स्वदेशी रंग उद्योगहरु पुनः निरुत्साहित हुनसक्ने तर्फ सरकारले ध्यान दिनुपर्छ । स्वदेशमा बहुराष्ट्रिय कम्पनीहरुले पनि उद्योग स्थापना गरेर नेपाललाई रंगमा आत्मनिर्भर उन्मुख बनाउँदैछ । रोजगारी र राजस्व पनि वृद्धि गरिरहेको छ । यस्ता उद्योगहरुलाई सरकारले थप प्रोत्साहन गर्नुपर्छ । उद्योगमा प्रयोग हुने केही कच्चा पदार्थहरुको भन्सार दर वृद्धि गरेको छ । सरकारले पुनर्विचार गर्नेमा विश्वस्त छु ।”
सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा रंग उद्योगमा आवश्यक पर्ने १४ प्रकारका कच्चा पदार्थमा भन्सार महशुल दर बढाएको छ । यसअघि क्रमशः १०, २० र ३० प्रतिशत लिँदै आएको महशुलमा यसपटक १० प्रतिशतले बढाइएको हो ।
२८२३.००.०० एचएस कोडबाट आयात हुने रंग उद्योगमा प्रयोग गरिने टाइटेनियम डाइअक्साइड रुटल कच्चा पदार्थमा सरकारले ५ प्रतिशत मात्रै भन्सार महशुल लाग्ने उल्लेख छ । तर, त्यही कच्चा पदार्थ अन्तर्राष्ट्रिय एचएस कोड ३२१३९०० बाट आयात गरिने टाइटेनियम डाइअक्साइड रुटलमा भने १५ प्रतिशत महशुल निर्धारण गरेको छ । बजेटमा परिचालित एचएस कोड २८२३.००.०० अनुसार ५ प्रतिशत भन्सार शुल्क लगाइने छ भनिए पनि उत्पादन विवरण टाइटेनियम डाइअक्साइड रुटल सहित एचएस कोड ३२१३९०० उल्लेख भएको कच्चा पदार्थमा पनि ५ प्रतिशत नै गर्न आवश्यक भएको वैदको तर्क छ । ट्रेडिङको लागि आयात भए १५ प्रतिशत लगाउँदा फरक नपर्ने बताउँदै उनले औद्योगिक कच्चा पदार्थको रुपमा आयात गरिएको वस्तुमा १५ प्रतिशत लिनु उचित नहुनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्