एक महिनामा साढे ५३ हजार पर्यटक

सन् २०२२ को पाँचौं महिना महिना मेमा ५३ हजार ६ सय ८ विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या अप्रिलको तुलनामा साढे ४ हजार कम हो ।
सन् २०२२ को सुरुबाट नै पर्यटक आगमनदरमा सुधार हुँदै आएको हो । जनवरीदेखि मेसम्ममा १ लाख ९० हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२२ को पहिलो महिना जनवरीमा करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका थिए । दोश्रो महिना फेब्रुअरीमा २० हजार, मार्चमा ४२ हजार र अप्रिलमा ५८ हजार २ सय ४८ पर्यटकले नेपालमा भ्रमण गरेका थिए ।
कोभिड–१९ को जोखिम कम भएसँगै सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किने क्रममा छ । सन् २०२० को अन्त्यदेखि फैलिएको कोभिड–१९ कारण पछिल्लो समय पर्यटक आगमनमा गिरावट आएको थियो ।
सन् २०२१ को अन्तिमतिरबाट नेपालले विदेशी नागरिक आगमनमा खुकुलो नीति लिएको हो । नेपालले सन् २०२१ को सेप्टेम्बरबाट पूर्ण खोप लिएका विदेशी नागरिकलाई अनअराइभल भिसा दिने नीति लिएको थियो भने कोभिडका कारण बन्द रहेको विदेशी एयरलाइन्सले पनि धमाधम आफ्नो सेवा सुचारु गर्न थालेका हुन् । कोभिड अगाडि हवाई सेवा सुचारु गरेका अधिकांश एयरलाइन्सले आफ्नो सेवा सुचारु गरिसकेका छन् । नेपालको सरकारी लगानीको नेपाल एयरलाइन्स र निजी क्षेत्रको लगानी रहेको हिमालयन एयरलायन्सले पनि कोभिड अगाडिकै स्तरमा आफ्नो सेवा विस्तार गरिसकेका छन् ।
यस वर्षको तथ्यांक हेर्ने हो भने जनवरीमा १६ हजार ९ सय ७५, फेब्रुअरीमा १९ हजार ७ सय ६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ५८ हजार ३ सय ८४ र मे मा ५३ हजार ६ सय ८ जना गरी कुल १ लाख ९० हजार ७ सय ३९ जना पर्यटक नेपाल भित्रिएका छन् ।
पछिल्लो समय नेपाल भ्रमणको लागि आउने पर्यटकमा भारतीय हिस्सा सबैभन्दा बढी छ । मे महिनामा २६ हजार ६ सय ६२ जना भारतीयले नेपाल भ्रमण गरेका छन् । बोर्डका अनुसार भिसा लाउन नपर्ने, क्वारेन्टाइन बस्नु नपर्ने जस्ता सुविधाका कारण पछिल्लो समय भारतीय पर्यटकको नेपाल आगमनमा वृद्धि भएको हो । दक्षिण एसियामा भारतीय पर्यटकपछि सबैभन्दा बढी पर्यटक आउने देशमा भने बंगलादेश रहेको छ । बोर्डको तथ्यांक अनुसार मे महिनामा ३ हजार २ सय ६८ जना बंगलादेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपालको कुल पर्यटक आगमनमा दक्षिण एसियाली देशहरुको योगदान ५७.०२ प्रतिशत रहेको छ । दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकहरुमा चीन, जापान, थाइल्यान्डलगायत मुलुकबाट धेरै पर्यटकको आगमन हुने गरेको छ ।
दक्षिण एसियापछि सबैभन्दा बढी पर्यटक युरोपेली महादेशबाट आएका छन् । युरोपेली मुलुकमध्ये सबैभन्दा बढी बेलायतबाट २ हजार ४ सय ५१ जना पर्यटक नेपाल आएका छन् । समग्र युरोप महादेशबाट मे महिनाभरिमा ६ हजार ८ सय ९५ जना पर्यटक नेपाल आएका छन् । समग्र युरोपको हिस्सा नेपालको कुल पर्यटनमा योगदान १२.८६ प्रतिशत रहेको छ ।
युरोप र एसियापछि अमेरिकी देशबाट ७ हजार २ सय ७४ जना पर्यटक नेपाल भ्रमणको लागि आएका छन् भने अष्ट्रेलियाबाट १६ सय ६ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।