गोरखाको वनमा वन्यजन्तुका लागि पोखरी «

गोरखाको वनमा वन्यजन्तुका लागि पोखरी

गोरखा-गोरखाको सामुदायिक वनमा वन्यजन्तुका लागि पोखरी निर्माण गरिएको छ । वन्यजन्तुले वनमा नै पानी उपभोग गर्न सकुन् भन्ने उद्देश्यले सामुदायिक वनमा कृत्रिम पोखरी निर्माणलाई निरन्तरता दिइएको डिभिजन वन कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७५/०७६ बाट सुरु भएको यो कार्यक्रम अन्तर्गत हालसम्म जिल्लामा १५ वटा पोखरी निर्माण भइसकेको सहायक वन अधिकृत महेश पौडेलले बताए । एक सामुदायिक वन एक संरक्षण पोखरी कार्यक्रम अन्तर्गत पोखरी निर्माणलाई निरन्तरता दिएको उनको भनाइ छ ।
चालू आर्थिक वर्षमामा पालुङटार नगरपालिका–९ को दरौंदीडाँडा सामुदायिक वन तथा उपभोक्ता समूह, भीमसेन थापा गाउँपालिका–१ को चण्डीथान सामुदायिक वन तथा उपभोक्ता समूह र अश्राङको बरबटे सामुदायिक वन तथा उपभोक्ता समूह, गोरखा नगरपालिकाको बडहरेपाखा सामुदायिक वन तथा उपभोक्ता समूह र गण्डकी गाउँपालिका–७ को चित्रादेवी सामुदायिक वन तथा उपभोक्ता समूहमा एक/एक वटा कृत्रिम पोखरी निर्माण गरिएको छ । यस्तै, गोरखा नगरपालिकाको विरान्चोकस्थित सामुदायिक वनमा पनि पोखरी निर्माणको क्रममा रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
पोखरी निर्माणका लागि कार्यालयबाट प्रति वन समूह एक लाख रुपैयाँ उपलब्ध गराइएको सहायक वन अधिकृत पौडेलले बताए । “यसमा २० प्रतिशत लागत सहभागिता उपभोक्ताको रहनेछ,” उनले भने, “स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी न्यून लागतमा पोखरी बनाएका छौं । ढुंगा–माटोको प्रयोगलाई प्राथमिकता दिएका छौं ।”
१३ मिटर लम्बाइ, ६ मिटर चौडाइ र १ मिटर गहिराइको पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ । “धेरैजसो ठाउँमा पानीको मुहान भएकै ठाउँमा पोखरी निर्माण गरिएको छ,” पौडेलले भने, “मुहान नभएको ठाउँमा पाइपबाट पानी ल्याएर पोखरीमा संकलन गरेका छौं ।”
वनमा पोखरी निर्माण गर्दा धेरै फाइदा पुगेको उनको भनाइ छ । “पोखरीले पहिलेका पानीका स्रोतलाई रिचार्ज गर्ने काम पनि गर्छ,” सहायक वन अधिकृत पौडेलले भने, “जंगलमा पानीको स्रोत संरक्षण तथा पोखरी निर्माण गरी पानीले भरिएपछि वन्यजन्तुलाई पानीको अभाव नहुने र गाउँबस्तीमा छिर्दैैन । पानीका स्रोतहरू तथा मुहान सुक्न पाउँदैन । जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा पनि उल्लेख्य योगदान पुग्छ ।” जंगलमा पोखरी निर्माण गर्दा डढेलो लागिहालेमा त्यसलाई नियन्त्रणमा लिन पनी सहज हुने डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्