चारित्रिक प्रमाणपत्र लिन ३ हजार «

चारित्रिक प्रमाणपत्र लिन ३ हजार

गुल्मीको मुसिकोट नगरपालिकाको एक विद्यालयले प्रमाणपत्र दिँदा अभिभावकको ढाड सेक्ने गरेको अभिभावकले गुनासो गरेका छन् ।
मुसिकोट नगरपालिका–२ मा रहेको खस्थोक माध्यमिक विद्यालयमा कक्षा ८ को प्रमाणपत्र लिँदा विद्यालयकी छात्रा ईश्मा गाउँपालिका–४ का पूर्णिमा नेपालीका बुबा दानबहादुर नेपालीले ३ हजार रुपैयाँ तिरे । पछि त्यो प्रमाणपत्र हरायो, पुनः प्रतिलिपि लिन पनि ३ हजार नै तिर्नुप¥यो । एउटै प्रमाणपत्रका लागि उनले जम्माजम्मी ६ हजार रुपैयाँ विद्यालयलाई बुझाए । उनले १ वर्ष पहिले छोरीको प्रमाणपत्र निकाली कुरियरमार्फत बाग्लुङ पठाउँदा हराएकाले प्रतिलिपि निकाल्नु पर्ने परेको थियो । प्रमाणपत्र हराएकै कारण एक वर्ष खेर गएको र कक्षा नौ को रजिस्ट्रेसन फर्म नै भर्न नपाएको नेपालीले दुःख ब्यक्त गरेका थिए ।
प्रमाणपत्र र प्रमाणपत्रको प्रतिलिपि लिँदा यसरी अभिभावकको ढाड नै सेक्ने गरी लिइने रकम अत्यधिक भएको भन्दै उनले आगामी दिनमा दोहोरो मर्कामा कोही पनि नपर्नको निम्ती लिइने रकममा पुनः विचार गर्न आग्रह गरे ।

सुनेनन् मेयरको निर्देशन
यता मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले भने आफूले विद्यालयमा महँगो शुल्क नलिन र प्रमाणपत्रको प्रतिलिपि लिँदा पनि न्यूनतम शुल्क लिन निर्देशन दिएको बताए । प्रमाणपत्र तथा प्रतिलिपि दुवैको लागि तीन हजार रुपैया धेरै भएकाले प्रतिलिपि लिँदा २०० रुपैयाँसम्म लिन र प्रमाणपत्र लिँदा पाँच सय रुपैयाँ सम्म लिनका लागि निर्देशन दिएको दाबी गरे ।
स्थानीय स्तरबाट र अभिभाबकहरुबाट रकम धेरै लिएको गुनासो आए पश्चात विद्यालयलाई सोवापतकको रकममा कटौती गर्न निर्देशन दिएको सापकोटाले बताए । तर विद्यालयले भने अहिले पनि सोही अनुसारको रकम लिने गरेको छ ।
हालसम्म सोही रकम लिँदै आएको विद्यालयका प्रधानाध्यपक कृष्ण सूर्यवंशीले बताए । हालसम्म सोही रकम लिदैँ आएको र यस शैक्षिक सत्रदेखि ब्यवस्थापन समितिको बैठक बसी केही परिमार्जन गर्ने सोच रहेको उनले बताए ।

विद्यालय चलाउन चर्काे रकम असुली
विद्यालयबाट यस आव ०७५-७६ मा ३३ जनाले प्रमाणपत्र लिएको लेखा शिक्षक श्रीराम पोखरेलले जानकारी दिए । उनका अनुसार ३३ जनाले प्रमाणपत्र लिएकोमा प्रतिब्यक्ति तीन हजारका दरले ९९ सय हजार रुपैयाँ जम्मा भएको छ । यसरी प्रमाणपत्र लिएको रकम र एकजनाले प्रतिलिपि निकालेको थप तीन हजार गरी कुल एक लाख दुई हजार रुपैयाँ जम्मा भएकोमा सो रकम विद्यालयमा राखिएका स्थानीय शिक्षकहरूको तलबमा खर्च गरिएको पोखरेलले बताए । उनका अनुसार विद्यालय निजी स्रोतबाट चलाउनु परेकाले मासिक ७३ हजार रुपैयाँ निजी क्षेत्रका शिक्षकहरूकै तलबमा खर्च हुन्छ । विद्यालयमा भएको आर्थिक गर्जाे टार्नकै निम्ती सोअनुसार शुल्क लिने गरेको उनले बताए । विद्यालय ब्यवस्थापन समितिले नै निर्णय गरेकाले सोहीअनुसार नै शुल्क लिने गरेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्