लमजुङका स्थानीय तहलाई तीन अर्ब १७ करोड ४३ लाख «

लमजुङका स्थानीय तहलाई तीन अर्ब १७ करोड ४३ लाख

लमजुङ-संघीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहका लागि तीन अर्बभन्दा बढी रकम अनुदान प्राप्त हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेस गरेको बजेटअनुसार आर्थिक वर्ष २०७९/०८० का लागि लमजुङलाई तीन अर्ब १७ करोड ४३ लाख रुपैयाँ विनियोजन भएको हो ।
सरकारले लमजुङ जिल्लालाई चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ३२ करोड ७६ लाख बढी रकम विनियोजन गरेको छ । चालू आर्थिक वर्ष २०७८/०७९ का लागि लमजुङका आठ स्थानीय तहलाई दुई अर्ब ८४ करोड ६७ लाख विनियोजन भएको थियो । आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेटअनुसार जिल्लाका आठ स्थानीय तहमध्ये सदरमुकामसमेत रहेको बेसीसहर नगरपालिकाले सबैभन्दा धेरै ४८ करोड १५ लाख बजेट पाउने भएको छ । बेसीसहरले चालू आर्थिक वर्षमा ४६ करोड ३५ लाख बजेट पाएको थियो ।
जिल्लाको राईनास नगरपालिकाले भने ४७ करोड ५० लाख रुपैयाँ पाउने भएको छ । चालू आर्थिक वर्षमा राईनासले ३८ करोड ५९ लाख रुपैयाँ पाएको थियो । यस्तै जिल्लाको मध्यनेपाल नगरपालिकाले ४६ करोड ४५ लाख रुपैयाँ पाउने भएको छ । चालू आर्थिक वर्षमा मध्यनेपाल नगरपालिकाले ४० करोड ७८ लाख बजेट पाएको थियो ।
यसैगरी जिल्लाको सुन्दरबजार नगरपालिकाले ४३ करोड ५० लाख पाउने भएको छ । सुन्दरबजारले चालू आर्थिक वर्षमा ४३ करोड ४२ लाख प्राप्त गरेको थियो । जिल्लाको गाउँपालिका मध्ये पनि सबैभन्दा धेरै दोर्दी गाउँपालिकाले ४३ करोड ६९ लाख रुपैयाँ पाउने भएको छ । दोर्दीले चालू आर्थिक वर्षका लागि ३८ करोड ७९ लाख रुपैयाँ बजेट पाएको थियो । यसैगरी मस्र्याङ्दी गाउँपालिकाले ३७ करोड ३२ लाख पाउने भएको छ । मस्र्याङ्दी गाउँपालिकाले चालू आर्थिक वर्षमा ३२ करोड ६० लाख रुपैयाँ पाएको थियो ।
जिल्लाको विकटमध्येको दूधपोखरी गाउँपालिकाले भने आगामी आर्थिक वर्षका लागि २५ करोड ५३ लाख रुपैयाँ पाउने भएको छ । चालू आर्थिक वर्षमा दूधपोखरी गाउँपालिकाले २० करोड ९२ लाख रुपैयाँ विनियोजन भएको थियो । आगामी आर्थिक वर्षका लागि जिल्लामा सबैभन्दा थोरै बजेट क्होलासोँथार गाउँपालिकाले पाउने भएको छ । क्होलासौथारका लागि २५ करोड २९ लाख रुपैयाँ विनियोजन भएको हो । सो गाउँपालिकामा चालू आर्थिक वर्षमा भने २३ करोड २२ लाख बजेट पाएको थियो ।
चारवटा नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा नगरपालिकाका लागि मात्रै एक अर्ब ८५ करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ भने गाउँपालिकाको लागि एक अर्ब ३१ करोड ८३ लाख रुपैयाँ विनियोजन भएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेको थियो । सरकारले चालू आर्थिक वर्षको तुलनामा एक खर्ब ४६ अर्ब २६ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्