विराटनगरको विकासका लागि विश्व बैंकको चासो «

विराटनगरको विकासका लागि विश्व बैंकको चासो

विराटनगर-विराटनगरको समग्र आर्थिक विकासका लागि विश्व बैंकले चासो देखाएको छ ।
विश्व बैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे बु्रक्स नेतृत्वको टोलीले महानगरपालिकाका मेयर नागेश कोइरालालाई भेटेर विराटनगरको समग्र आर्थिक विकासका लागि चासो देखाएको हो । मेयर कोइरालासितको भेटका क्रममा ब्रुक्सले विराटनगरको विकास र समृद्धिका लागि विश्व बैंक सहयोग गर्न तयार रहेको प्रस्ट्याए ।
प्रदेशको राजधानी भएकाले विराटनगरको विकास हुनु जरुरी रहेको उनको भनाइ थियो । विकास र समृद्धिले मात्रै संघीयता बलियो हुने बताउँदै उनले महानगरलाई आर्थिक रुपमा बलियो बनाउन सुझावसमेत दिए ।
सो क्रममा उनले वित्तीय हस्तान्तरणको अवस्था, स्थानीय, प्रदेश र संघीय सरकारबीच हुने वित्तीय बाँडफाँट, स्थानीय तहले संकलन गर्ने राजस्वको अवस्थालगायतका विषय विश्व बैंकका प्रतिनिधिहरूले मेयर कोइरालासित जिज्ञासा राखेका थिए । विश्व बैंकले नेपाल सरकारसित मिलेर नेपालको समग्र विकासका लागि परियोजना तयार पारिरहेको छ ।
सो परियोजना करिब १ सय ५० मिलियन डलर बराबरको हुनेछ । परियोजनाअन्तर्गत भारतसित सीमाना जोडिएका नेपालका ठूला सहरहरूको आर्थिक विकासका लागि विश्व बैंकले अध्ययन गरिरहेको ब्रुक्सले बताए ।

प्रतिक्रिया दिनुहोस्