अब होटलले प्लाष्टिकरहित सेवा दिने

नेपालका होटल तथा रिसोर्टले प्लास्टिकका सामान मुक्त सेवा प्रदान गर्ने भएका छन् । विश्वलाई आक्रान्त बनाउँदै गएको जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न मुलुकको पर्यटन वातावरणमैत्री रहेको विश्वमाझ प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यले होटल संघ नेपाल (हान) ले प्लास्टिकरहित सेवा प्रदान गर्न लागेको हो । होटल संघ नेपालले आफ्ना सदस्य होटलहरुको कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई निरुत्साहित गर्दै हरित पर्यटनलाई बढावा दिने उद्देश्यले बुधबार एक कार्यक्रमको आयोजना गरी होटलहरुले प्लाष्टिकरहित सेवा प्रदान गर्ने घोषणा गरेको हो ।
हानको सक्रयतामा दुई वर्षभित्रमा होटल तथा रिसोर्टबाट प्लास्टिकरहित सेवा दिने घोषणा गरेको हो ।
कोभिडपछिको पर्यटनलाई तीव्र गतिमा लयमा फर्काउने उद्देश्यले संघले होटलका कोठाहरुमा दैनिक प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई न्यूनीकरण गर्न लक्ष्यसहित प्लाष्टिकरहित सेवा सुरु गरेको हानका अध्यक्ष सिर्जना राणाले बताइन् । उनले भनिन्, “होटलले सेवा दिँदा प्लाष्टिकका सामान त्यागेर काठमा सामानको प्रयोगमा ल्याइने छ ।”
विश्वमा व्यापक रुपमा फैलिएको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरी यसबाट बाँच्न र बचाउनका लागि सबै जागरुक हुनु आवश्यक भएकाले होटलमा प्लाष्टिकरहित सेवा सुरु गरिएको जनाइएको छ । हानले भनेको छ, “जलवायु र यसको मानव जीवनमा पर्ने नकारात्मक प्रभावप्रति हामी सचेत हुनु आवश्यक रहेको छ । हामीले गर्ने हरेक क्रियाकलाप तथा व्यवहार वातावरणमैत्री हुनु जरुरी छ ।”
संघले सदस्य होटलका कोठामा कम भन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग होस् र क्रमशः घटाउँदै दीर्घकालमा सकेसम्म प्लास्टिकजन्य सामग्रीको प्रयोग न्युन गर्न अभियान सुरु गरेको हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताए । “यस कार्यले नेपाली होटल उद्योग र समग्र राष्ट्रको वातावरण संरक्षणमा योगदान पुग्ने छ” उनले भने, “यसको लागि केही ठूला होटलहरुले कार्यान्वयनमा समेत ल्याइसकेका छन् ।”
हानले कार्यान्वयनमा ल्याउन लागेको प्लाष्टिक रहति सेवा वातावरण संरक्षणमा ठूलो योग्दान पुग्ने
काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले बताइन् । आगामी दिनमा होटलबाट मात्र नभए घर–घरमा प्लाष्टिकरहित जीवनयापन सुरु गर्नु पर्ने उपमेयर डंगोलकोे भनाइ छ ।