Logo

नेपाल घरेलु तथा साना उद्योग महासंघले ग-यो बजेटको स्वागत

सरकारले आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै नेपाल घरेलु तथा सानाउद्योग महासंघले बजेटको स्वागत गर्दै सफल कार्यान्वयनमा जोड दिएको छ ।
निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनको रुपमा स्थापित गर्ने लक्ष्य राखेको बजेटले निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई मुलुकको आर्थिक विकासमा परिचालन गर्न व्यवसायमैत्री वातावरण निर्माण गर्ने विद्यमान कानुन तथा कर प्रणालीमा सुधार र पूर्वाधार सुविधा उपलव्ध गराउने बजेटको सकारात्मक पक्ष भएको महासंघको ठहर छ ।
कृषि क्षेत्रको रुपान्तरण र रोजगारी वृद्धिः निरपेक्ष गरिबीको अन्त्यर आर्थिक समृद्धि कार्यक्रमअन्तर्गत, आत्मनिर्भरताका लागि कृषि उत्पादनको राष्ट्रिय अभियानको वर्षको रुपमा आगामी आर्थिक वर्षमा आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम सञ्चालन गर्ने, कृषिलाई व्यावसायीकरण, यान्त्रिकरण र आधुनिकीकरण गर्ने, किसानसँग सरकार कार्यक्रमअन्तर्गत किसानको मनोबल बढाउन योगदानमा आधारित किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोष स्थापना गर्ने जस्ता कृषिमैत्री कार्यक्रमहरु आउनु बजेटका सकारात्मक पक्ष भएको महासंघले जनाएको छ ।
मुलुकको विकास र समृद्धि विशेष अभियान दशक २०७९÷८९ सञ्चालन गरी नेपाली उत्पादनको वृद्धि, रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार अभिबृद्धिका लागि प्रधानमन्त्री नेपाली उत्पादनएवं उपभोग अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने कुरा पनि बजेटको सबल पक्ष भएको महासंघले जनाएको छ ।
स्वदेशी वस्तुको उत्पादन र प्रयोग बढाउन आफ्नै उत्पादन आफ्नै उपभोग अभियान सञ्चालन गरी सरकारी तथा सार्वजनिक निकायहरुमा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने व्यवस्था गरिनु पनि बजेटको सकारात्मक पक्ष भएको महासंघले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्