नेपालमा लगानी गर्न जापानलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले औद्योगिक लगानीका लागि जापानसँग आग्रह गरेको छ ।
उद्योग, जलविद्युत, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन चेम्बरले जापानसँग आग्रह गरेको हो । नेपालका लागि जापानी राजदूत किकुता युताकासँग बुधबार भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले जापानी लगानीको सुरक्षणका लागि सरकारसँग पहल गर्ने बताए ।
“वैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ” उनले भने, “आगामी बर्षको बजेटमा पनि सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, जापानी लगानी सुरक्षण गर्न हामी प्रतिवद्धता जनाउँछौं ।”
अध्यक्ष मल्लले नेपालमा खपत हुने वस्तु र अन्तर्राष्ट्रिय रुपमा बढी माग हुने वस्तुहरुको नेपालमै उद्योग खोल्न राजदूत समक्ष आग्रह गरे । नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले जापानी लगानीमा उद्योग खोलेर भारत, चीन जस्ता राष्ट्रमा व्यापार बढाउन पनि राजदूत युताकासँग आग्रह गरे । जापानी निजी क्षेत्रसँग आफूहरुले सहकार्य गर्न चाहेको अध्यक्ष मल्लले बताए । “नेपाल र जापानबीचको कुटनीतिक सम्वन्ध स्थापना भएको ६६ वर्ष पूरा भएको छ” उनले भने, “जापानले जाईकालगायत आफ्ना विभिन्न दातृ निकायमार्फत नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । यसलाई व्यावसायिक गतिविधिमार्फत हामी अझै अघि बढाउन चाहन्छौं ।”
सरकारले बजेटमार्फत कृषिलाई उच्च प्राथमिकतामा राखेको भन्दै अध्यक्ष मल्लले नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि भित्र्याउने पहल गरिदिन पनि राजदूत युताकासँग आग्रह गरे । भेटमा चेम्बरका पदाधिकारीले पछिल्लो समय नेपालले विद्युतमा सहुलियत, निर्यात प्रवद्र्धनमा विभिन्न सहुलियत घोषणा गरेकाले अन्तर्राष्ट्रिय लगानीका लागि महत्वपूर्ण अवसर रहेको बताएका थिए ।
राजदूत युताकाले नेपाल र जापानबीचको दुईपक्षीय सम्वन्ध ऐतिहासिक भएको बताए । उनले नेपालसँग आर्थिक र सामाजिक सबै तहमा सहकार्य जारी रहने प्रतिवद्धतासमेत जनाए । नेपाललाई जापान सरकार र आफ्ना दातृ निकायमार्फत लामो समयदेखि सहयोग हुँदै आएको र यो क्रम अझै जारी रहने उनले बताए । जापानको लगानी भित्र्याउनका लागि नेपालले आफ्नो अन्तर्राष्ट्रिय प्रतिस्पर्धी क्षमतामा सुधार गर्नुपर्ने राजदूत युताकाको भनाइ छ ।