सगरमाथा आरोहणका सारथी

१८ जेठ, २०७९ मा यसै ‘कारोबार दैनिक’मा आएको समाचारअनुसार यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण समाप्त भएको छ । निश्चय नै यो वर्षको वसन्त ऋतुमा सगरमाथा हिमालले गत वर्षको जत्ति आम्दानी दिन सकेन । किनभने गत वर्षको वसन्त ऋतुमा नेपालमा कोरोना महामारीको संशय रहँदारहँदै पनि विश्वका विभिन्न देशका ४ सय ८ जना पर्वतारोही विश्वकै अग्लो हिमाल सगरमाथा, एभरेस्ट अर्थात् ‘चोमोलुङ्माबाट आरोहण गर्न भनी आएका थिए । तर, गत वर्ष ठ्याक्कै सगरमाथा आरोहण गर्ने समय नजिकिँदै गर्दा भारतका विभिन्न राज्यमा दुई–दुई पटक ‘यास’ र ‘ताई/तुई’ नामक समुद्री आँधी आएको र सोका कारण सगरमाथा आरोहण गर्न आएका पर्वतारोहीलाई बाधा पुगेको हुनाले लगभग ३३/३४ प्रतिशत (१ सय ८२ जना) विदेशी पर्वतारोहीले मात्रै सगरमाथा आरोहण गर्न सफलता पाएका थिए । नेपाली आरोही (सरदार र क्लाइम्बिङ शेर्पा) गरेर गत वर्ष जम्मा ४ सय ५९ जना पर्वतारोही सगरमाथा आरोहण गर्न सफल भएका थिए । हुन पनि गत वर्ष यास र ताइ/तुई नामक समुद्री आँधी आएकै कारण नेपालको हिमाली क्षेत्रमा मौसम खराब भएकाले गर्दा नेपालमा जम्मा ६ वटा हिमाल मात्रै आरोहण गर्न सफल भएका थिए, पर्वतारोहीहरू । जबकि १६ वटा हिमाल आरोहण गर्न सरकारले अनुमति दिएको थियो, विभिन्न देशका पर्वतारोहीहरूलाई ।
सगरमाथा आरोहण गर्न आएका पर्वतारोहीलाई बाधा पुगेको हुनाले पनि नेपाल सरकारले गत वर्ष सगरमाथा आरोहण गर्न आएका विभिन्न देशका पर्वतारोहीलाई अनुमति दिएबापत लिने गरेको सलामी दस्तुर भने हालसम्मकै धेरै अर्थात् ६६ करोड नेपाली रुपैयाँबराबर आम्दानी गरेको थियो । त्यसबाहेक गत वर्ष नेपालका अन्य हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीलाई अनुमति दिएर लिने गरेको सलामी दस्तुरबापत नेपाल सरकारले लगभग ७१ करोड नेपाली रुपैयाँबराबर आम्दानी गरेको थियो ।
यस वर्षको वसन्त ऋतुमा भने धेरै देशका पर्वतारोहीहरू धेरै संख्यामा नेपालमा रहेका एकसे एक हिमाल आरोहण गर्न आएका छन् । विश्वमा लगभग २ सय देश छन् । तीमध्ये ५९ देशका ४ सय २५ जना पर्वतारोहीले यो वर्ष सगमाथा आरोहण गर्नका लागि नेपाल सरकारबाट अनुमति लिएका थिए । त्यसमध्ये सबैभन्दा धेरै संयुक्त राज्य अमेरिका (यूएसए) का पर्वतारोही थिए । यसरी यस वर्ष वर्षको वसन्त ऋतुमा सगरमाथा हिमाल आरोहण गर्न अनुमति लिने ५९ देशका ४ सय २५ जना पर्वतारोहीमध्ये लगभग ७० प्रतिशत पर्वतारोहीले सगरमाथा आरोहण गर्न सके होलान् कि ? किनभने हालसम्म पर्यटन विभागले कुनै आधिकारिक जानकारी दिएको छैन । अझ विदेशी पर्वतारोहीका साथ जाने नेपाली आरोही (सरदार र क्लाइम्बिङ शेर्पा) ले पनि सगरमाथा आरोहण गर्ने गर्छन्, जो पर्वतारोहीका विश्वासिला र भरपर्दा सहयोगीका रूपमा खटिएका हुन्छन् । तर, उनीहरू (सरदार र क्लाइम्बिङ शेर्पा) ले नेपाल सरकारबाट छुट्टै अनुमति लिइरहनु पर्दैन । त्यसैले लगभग ८ सय हाराहारीले यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न सफल भए होलान् ।
त्यस्तै यो वर्ष सगरमाथा आरोहण गर्न आएका विदेशी पर्वतारोहीको संख्या गत वर्षभन्दा केही बढी भए पनि यो वर्षको वसन्त ऋतुमा चाहिँ सगरमाथा आरोेहण गर्न आएका विदेशी पर्वतारोही तथा नेपाली पर्वतारोहीलाई अनुमति दिएबापत सरकारले गरेको आम्दानी अर्थात् सलामी रकमचाहिँ गत वर्षको भन्दा धेरै कम छ । यस्तो किन भयो ? भन्ने सम्बन्धमा नेपाल सरकार मातहत रहेको पर्यटन विभागले समय आएपछि कारणसहित बताउला नै, प्रस्ट्याउला नै । किनभने यस वर्षको वसन्त ऋतुमा नेपाल सरकारले सगरमाथा आरोहण गर्न आएका पर्वतारोहीबाट ३९ करोड ५५ लाख नेपाली रुपैयाँबराबर मात्रै कमाइ गरेको छ ।