Logo

कलाकर्मी सम्मानित

परिवर्तन नेपालले हरितारा चलचित्र पुरस्काद्वारा वरिष्ठ अभिनेत्री मिथिला शर्मालाई सम्मान गरेको छ ।
बुधवार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हरितारा चलचित्र पुरस्कारद्वारा शर्मालाई सम्मान गरेको हो । दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार र चेतन कार्की स्मृति पुरस्कारद्वारा पनि चलचित्र क्षेत्रमा विशेष योगदान दिएका कलाकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वरिष्ठ अभिनेत्री मिथिला शर्माले कुनै पनि संस्था र व्यक्तिले दिएको सम्मानलाई सम्मानपूर्वक चलाइरहनु पनि अर्को ठूलो अभियान भएको बताए । उनले यस्ता सम्मानले लामो समय यता चलचित्र क्षेत्रमा पु-याएको योगदानलाई स्मरण गराउने बताएो ।
त्यस्तै वरिष्ठ कलाकार मदनदास श्रेष्ठले कार्यक्रमले नारी शक्तिलाई सम्मान गरेकोमा खुसी लागेको बताउनु भयो । उनले कलाकारहरु अवसरवादी हुने गरेको भन्दै पाउनु पर्ने व्यक्तिले उचित सम्मान पाउन नसकेको बताए । उनले कलाकारहरुलाई पनि राजनीतिक विभाजन र सीमावद्ध गरिएको आरोप लगाए । वरिष्ठ कलाकार श्रेष्ठले राजनीतिक दलहरुले कलाकारहरुमा विखण्डन ल्याएर एकरुपता बन्न नदिएको बताए ।
त्यस्तै वरिष्ठ अभिनेत्री करिष्मा मानन्धरले पनि कलाकारहरुमा एकतावद्ध हुन नसकेको बताए । उनले पुराना कलाकारहरुले सबै एकतावद्ध रुपमा अघि बढेपनि नयाँ कलाकारहरुमा मनमुटाव र अहंता बढेको बताए । उनले नयाँ पुस्तामा ऐक्यवद्धता नरहेको भन्दै नयाँ कलाकारहरुले पनि पुस्ताको संस्कृतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
त्यस्तै नायिका दीपाश्री निरौलाले हरिताराको सहयोगले नै आफूलाई कलाकार बन्न सहयोग गरेको बताए । उनले कलाकारिताको क्षेत्रमा विशेष सहयोग पु-याउने तर भौतिक रुपमा संसारमा नरहेका कलाकारहरुलाई जीवित राख्ने काम गर्नुपर्ने बताए ।
त्यस्तै अभिनेत्री रेखा थापाले सफल मानिसको पछाडि दुःख र संघर्ष धेरै हुन्छ भन्ने कुरा नयाँ पुस्ताले स्मरण गर्न आवश्यक रहेको बताए । उनले चलचित्र क्षेत्रको साझा इतिहास बनाउन चाहने भए सबैले एकअर्कामा हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।
सम्मान समारोहमा हरितारा चलचित्र पुरस्कार, श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार र परिवर्तन सम्मान गरी करिब एक दर्जन चलचित्र क्षेत्रमा योगदान पु-याएका कलाकार एवं रंग पत्रकारहरुलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्