Logo

स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रयासरत छुः मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू प्रयासरत रहेको बताए । बुधबार मकवानपुरे समाज काठमाडौंको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै उनले आफूले थालेको प्रयासमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।
शनिबार सम्पन्न समाजको दोस्रो साधारणसभाबाट अरुणकुमार गुरुङको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । मन्त्री खतिवडाले उक्त कार्यसमितिलाई आफ्नो निवासमा एक संक्षिप्त बधाई कार्यक्रम राख्दै सबैलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
उनले समाजले स्वास्थ्य सेवाका साथै सामाजिक सेवामा उल्लेखनीय योगदान गरेको चर्चा गर्दै आगामी दिनमा पनि संस्थाले अझ बढी योगदान गर्नुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाए । उनले भने, ‘आगामी दिनमा समाजले मकवानपुर केन्द्रित गरी अझ व्यापक र फराकिलो ढंगले मानवीय र सामाजिक काममा भूमिका बढाउनुपर्छ, त्यसका लागि मेरो व्यक्तिगत र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट सहयोग गर्न सधैं तयार छु ।
समाजका अध्यक्ष अरुणकुमार गुरुङले मञ्चले अहिले झैं आगामी दिनमा पनि राजनीतिक भावनाभन्दा माथि उठेर विशुद्ध सामाजिक काममा भूमिका खेल्ने प्रतिबद्धता जनाए । कार्यक्रममा स्वास्थ्य मन्त्रीका प्रमुख स्वकीय सचिव माधवप्रसाद तिमल्सिना, मञ्चका सल्लाहकार डा. अंगुर कार्की, रवीन्द्र श्रेष्ठ लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्