Logo

काठमाडौंका मेयर शाहले भेटे प्रधानमन्त्री देउवालाई

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् ।
काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र (बालेन) शाहसँगको भेटका क्रममा बुधबार प्रधानमन्त्री देउवाले महानगरको राम्रो कामका लागि आफ्नो पार्टी र सरकारको समेत पूर्ण सहयोग रहने बताएका हुन् । भेटमा प्रधानमन्त्रीले साहलाई कामपाको प्रमुखमा विजय भएकामा बधाईसमेत दिएका थिए ।
प्रमुख शाहले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताए । यसअघि प्रमुख शाहले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग पनि भेट गरेका थिए ।
यसैबीच, प्रमुख शाहले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष शर्मा ओलीसँगको भेटले आफूलाई ऊर्जावान बनाएको बताएका छन् । बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले चुनावमा चमत्कार गरेको भन्दै बालेनलाई बधाई दिएका थिए । यसका साथै उनले महानगरलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
‘केहीअघि हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थियौं । आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छौं । भेटघाटका क्रममा उहाँहरुले दिनुभएको प्रेरणाले हामीलाई थप उर्जावान बनाएको छ,’ उनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्