१० हजारमै इलेक्ट्रिक स्कुटर दिने लेभ्निङको योजना

पेट्रोलियम पदार्थ महंगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किमहरु आउन थालेका छन् ।
यसै सन्दर्भमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले ‘तपाईको गोजीमा कति छ ?’ ट्यागलाइनका साथ आकर्षक स्किम ल्याएको छ । यस अनुसार कम्पनीले ‘१० हजार ल्याउनुहोस्, लेभ्निङ स्कुटर लानुहोस्’ भनेको छ ।
दस हजार रुपैयाँमा फाइनान्सका साथ उपलब्ध हुने यो स्किम नेपाली दुई पांग्रे सवारी बजारमा नौलो र आकर्षक स्किम हुने कम्पनीको दावी छ । यसका लागि फाइनान्स पार्टनरको रुपमा ललितपुरको लगनखेलमा अवस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाले ग्राहकलाई आवश्यक फाइनान्स सुविधा उपलब्ध गराउने बताइएको छ ।
ग्राहकलाई १२, १८ र २४ महिनासम्मका लागि फाइनान्स सुविधा उपलब्ध हुने बताइएको छ । नेपाली बजारमा एलएक्स ०१, एलएक्स ०२, एलएक्स ०४, एलएक्स ०५, एलएक्स ०५–डी, एलएक्स ०६, एलएक्स ०६ म्याक्स, एलएक्स ०८, एलएस ०१ र एम ०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजारदेखि ५ लाख ५९ हजार रुपैयाँसम्म रहेको कम्पनीको भनाइ छ ।
यी स्कुटरमा विश्व प्रसिद्ध जर्मनको बोस कम्पनीको मोटर र विभिन्न क्षमताका लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । ब्याट्री सिंगल र रिप्लेसेबल ड्युअल गरी दुवै प्रकारका छन् । स्कुटरमा विभिन्न तीन राइडिङ मोड छन् भने एन्टी थेफ्ट रिमोट कन्ट्रोल लगायतका विभिन्न फिचर उपलब्ध छन् भने २ वर्षको वारेन्टी उपलब्ध छ । इलेक्ट्रिक स्कुटरको सर्भिसिङमा खर्च नहुने र पेट्रोलियम पदार्थ समेत प्रयोग गर्नु नपर्ने भएकाले वार्षिक रुपमा करिब एक लाख रुपैयाँ बचत हुने बताइएको छ । त्यसैगरी नेपालको बिजुली नेपालमै खर्च हुने भएकाले पेट्रोलियम पदार्थ खरिदका लागि विदेश पठाउनु पर्ने पैसा नेपालमै बचत हुनेछ । वातावरण प्रदूषण नहुने भएकाले समेत इलेक्ट्रिक स्कुटर प्रयोग गर्नु उपयुक्त हुने कम्पनीले जनाएको छ ।