पोखरा विमानस्थलको ३७ प्रतिशत निर्माण कार्य सम्पन्न «

पोखरा विमानस्थलको ३७ प्रतिशत निर्माण कार्य सम्पन्न

पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थलको धावन मार्गको निर्माण कार्य सकिएको छ । नेपालमै पहिलो पटक निर्माण भएको रिजिट कंक्रिट पेभमेन्टको आधारमा पोखरा विमानस्थलको धावनको मार्ग निर्माण कार्य सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनका प्रमुख विनेस मुनाकर्मीले बताए ।
उक्त धावन मार्ग तीन तहमा निर्माण भएको छ भने २ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटरको चौडाइमा रहेको उनले बताए । हालै निर्माण भएको उक्त धावन मार्गको पहिलो तह २०, दोस्रो तह २० र तेस्रो तहमा ३४ गरी ७४ सेन्टिमिटरको मोटाइमा रिजिट कंक्रिटको संरचनामा धावन मार्ग निर्माण भएको आयोजना प्रमुख मुनाकर्मीले बताए । पिचभन्दा रिजिट कंक्रिट पेभमेन्टको संरचनाको आधारमा निर्माण हुने धावन मार्गको तुलनामा बढी दिगो हुने उनको दाबी छ । त्यसैगरी पोखरा विमानस्थलको एप्रोन (यात्रु झार्ने तथा बोक्ने स्थल) को समेत निर्माण कार्य सकिएको आयोजना प्रमुख मुनाकर्मीले जनाए ।
पोखरा विमानस्थल निर्माणको हाल करिब ३७ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको आयोजना प्रमुख मुनाकर्मीले बताए । उनका अनुसार विभिन्न बाँकी रहेका भौतिक संरचनाको निर्माण कार्य द्रेत गतिमा भइरहेको छ । असार मसान्तभित्र ३५ प्रतिशत निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिए पनि उक्त समय सीमाभित्र समयले साथ दिएमा ४० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न गर्न सकिने उनले विश्वाय व्यक्त गरे ।
त्यसैगरी उक्त परियोजनामा १४ वटा भवन निर्माण हुने भए पनि हालसम्म ५ वटा भवन निर्माण सम्पन्न भएको चाईनिज सीएएमसी कम्पनीका जनसम्पर्क अधिकृत कृष्णप्रसाद चापागाईंले बताए । उनका अनुसार अर्को ५ वटा भवनको पनि स्टिल संरचना बाहेक ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । टर्मिनल भवनको फाउन्डेसन टाइपिङ सहितको निर्माण कार्य सकिए पनि अन्तिम फिनिसिङको काम बाँकी रहेको जनसम्पर्क अधिकृत चापागाईले बताए । १ हजार २ सय मिटर लम्बाइको ट्याक्सी वेको समेत तेस्रो तहको ढलान अर्थात् रिजिट पेभमेन्ट गर्न बाँकी रहेको उनले बताए ।

उनका अनुसार उक्त परियोजनामा हाल दैनिकजसो २ सय कमदार चाइनिज र ३ सय नेपाली गरी ५ सय जना कामदार खटिएका छन् । विमानस्थलमा हुने पानीलाई व्यवस्थापन गर्न ड्रप स्टक्चरको निर्माण कार्य भइरहेको उनले जनाए । त्यसै गरी विमानस्थलको पेरीफेरी (रिङरोड) र लाइटिङका लागि समेत काम भइरहेको जनसम्पर्क अधिकृत चापागाईंले बताए । उनका अनुसार अधिकांश भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चाइनाबाट स्टिल भित्रिएसँगै स्टिल जडान गर्ने काम बाँकी रहेको बताइन्छ ।

रिठ्ठेपानीको डाँडा कटानको समेत तयारी भएको आयोजना प्रमुख मुनाकर्मीले बताए । स्थानीय सरोकार निकायसँग समन्वय गरी २४ मिटर डाँडा कटान गनिने भएको उनले जनाए । विमान उडानमा असर गर्ने भएकोले उक्त डाँडा कटान हुने भएको हो । पोखरा विमानस्थलको रिङरोडको लागि १० किलोमिटर सडक निर्माण गर्ने बताए । हाल ट्रयाक निर्माण गरेकोले आगामी एक वर्षभित्र रिङरोड बनाउने उनले जनाए । कुनै बाधा अड्चन नआएको खण्ठमा आफूहरूले निर्धारित समयमै निर्माण गर्ने उनको भनाइ छ ।
पोखरा विमानस्थल करिब २२ अर्वको लगानीमा सन् २०२१ जुलाई १० भित्र सकिने गरी चाइनिज कम्पनीले हाल निर्माण कार्यलाई तीव्र पारेको छ । पोखरा विमानस्थल करिब ३७ सय रोपनी क्षेत्रफलमा विमानस्थल निर्माण सुरु भएको हो । अर्थ मन्त्रालयसँग सहायक ऋण सम्झौता भएसँगै २०१७ को जुलाई ११ (२०७४ असार २७ गते)बाट निर्माण कार्य सुरु भएको हो । ५ प्रतिशत ब्याजदरमा २० वर्षको अवधिमा २६ किस्ता तिर्ने गरी ऋण सम्झौता भएको थियो । सुरुको ७ वर्ष भने (ग्रोस अवधी) कुनै किस्ता तिर्न पर्दैन भने त्यस पछि १३ वर्षसम्म ६÷६ महिनामा किस्ता तिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्