मनाङका स्थानीय तहलाई ६७ करोड ३६ लाख

लमजुङ-हिमाली जिल्ला मनाङलाई आगामी आर्थिक वर्षका लागि ६७ करोड बढी बजेट विनियोजन भएको छ । सरकारले आइतबार सार्वजनिक गरेको बजेटअनुसार मनाङका स्थानीय तहका लागि ६७ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।
मनाङका स्थानीय तहका लागि चालू आर्थिक वर्षमा ६१ करोड ३४ लाख रुपैयाँ विनियोजन भएको थियो । हाल मनाङका लागि ६ करोड दुई लाख बढी बजेट विनियोजन भएको छ । जिल्लाका चार स्थानीय तहमध्ये मनाङको नासोङ गाउँपालिकाले सबैभन्दा धेरै बजेट पाउने भएको छ भने नार्पाभूमि गाउँपालिकाले सबैभन्दा कम बजेट पाउने भएको छ । आगामी आर्थिक वर्षका लागि नासोङ गाउँपालिकाले मात्रै १९ करोड ७१ लाख बजेट पाउने भएको छ । चालू आर्थिक वर्षका लागि १७ करोड २७ लाख बजेट पाएको सो गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि दुई करोड ४४ लाख बढी बजेट पाउने भएको हो ।
यस्तै जिल्लाको सदरमुकामसमेत रहेको चामे गाउँपालिकाका लागि १६ करोड ९७ लाख बजेट विनियोजन भएको छ । चामेका लागि चालू आर्थिक वर्षमा १५ करोड ८८ लाख बजेट विनियोजन भएको थियो । आगामी आर्थिक वर्षका लागि चामेमा एक करोड नौ लाखमात्रै बढी बजेट आउने भएको हो । त्यसैगरी जिल्लाको ङिस्याङ गाउँपालिकाको निम्ति भने १६ करोड ४४ लाख बजेट विनियोजन भएको छ । ङिस्याङका लागि चालू आर्थिक वर्षमा १५ करोड ६८ लाख रुपैयाँ विनियोजन भएको थियो । ङिस्याङ गाउँपालिकाका लागि पनि चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा ७६ लाख रुपैयाँ मात्रै बढी बजेट आउने भएको हो ।
यसैगरी जिल्लाको अतिविकटमा रहेको नार्पाभूमि गाउँपालिकाको निम्ति १४ करोड २४ लाख रुपैयाँ विनियोजन भएको छ । नार्पाभूमिका लागि चालू आर्थिक वर्षमा १२ करोड ५१ लाख विनियोजन भएको थियो । जिल्लामा सबैभन्दा थोरै बजेट नार्पाभूमि गाउँपालिकाको निम्ति रहेको छ । यद्यपि चालू आर्थिक वर्षको तुलनामा नार्पाभूमिमा एक करोड ७३ लाख बजेट बढी आउने भएको छ ।