जुम्लामा १५ सय किलोवाटको सोलार प्लान्ट जडान हुँदै

जुम्ला-जुम्लामा राष्ट्रिय प्रसारणलाइन पुगे पनि नियमित रूपमा विद्युत आपूर्ति नहुँदा विकल्पका रूपमा सोलार प्लान्ट जडान गर्ने तयारी भएको छ । चन्दननाथ नगरपालिका–३ स्थित घुघुती पावरहावस नजिक सोलार प्लान्ट राख्ने तयारी भएको हो ।
जुम्लामा नियमित रूपमा विद्युत आपूर्ति हुन नसकेपछि विकल्पका रूपमा सौर्य ऊर्जाको व्यवस्थापन गर्न लागिएको छ । विद्युत आपूर्तिलाई थप सहज बनाउन १५ सय किलोवाट क्षमताको सोलार प्लान्ट राख्न थालिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले जानकारी दिए । उनका अनुसार चन्दननाथ नगरपालिका–३ स्थित खोपचौर र घुघुत्ती पावरहाउस नजिकको जग्गामा सोलार पलान्ट राख्न लागिएको छ । सोलार प्लान्टबाट बिजुली निकाल्नका लागि अन्तिम प्रयत्न भइराखेको छ । प्रमुख रावलले भने, “नेपाल विद्युत प्राधिकरण काठमाडौंबाट पीएमडी शाखाबाट तीनजना इन्जिनियरको टोली जुम्ला पुगेर फर्किसकेको छ । प्लान्ट राख्न एक स्थान छानेर फर्किएको छ । चाँडै सोलार जडान र बत्ती उत्पादन गरी वितरण गरिने छ ।”
यहाँको चन्दननाथ नगरपालिकामा सात सय किलोवाट बिजुली खपत हुन्छ । १५ सय किलोवाट सोलार प्लान्ट स्थापना भए पश्चात नगरबासीलाई बिजुली आपूर्तिमा निकै राहत मिल्ने केन्द्र प्रमुख रावलले बताए । जुम्ला सदरमुकाम खलंगासम्म विद्युतको राष्ट्रिय प्रसारणलाइन जडान भइसकेको छ । तर, नियमित विद्युत आपूर्ति नहुने, पावर नआउने, समस्या छ । दैलेख, दुल्लु, कालिकोट हुँदै जुम्ला पुगेको ११ केभी विद्युत प्रसारणलाइन पुगे पनि उपभोक्ताले आवश्यकता अनुसार बत्ती उपभोग गर्न पाएका छैनन् । महिनामा दुई हप्ता बत्ती नआएकै बित्ने गरेको छ ।
सोलार प्लान्ट राख्न सुरु भएपछि नियमित रुपमा बिजुली बाल्ने जुम्लावासीको धोको पूरा हुने आशा गरिएको छ । स्थानीय दलबहादुर खत्रीले राष्ट्रिय प्रसारणलाइन जुम्ला पुगे पनि जुम्ला बिजुलीविहीन हुने गरेको दुःखेसो पोखे । उनले भने, “राष्ट्रिय प्रसारणलाइन भरपर्दो छैन । जुम्लाबासीसँग उज्यालोको कुनै विकल्प छैन । सौर्य ऊर्जाको व्यवस्थापन हुन सकेमा विद्युत अभाव हट्ने अपेक्षा छ ।”
सदरमुकाम खलंगामा राष्ट्रिय प्रसारणलाइन पुगेपछि गाउँका विकट बस्ती अझै पनि अँध्यारोमै बस्न बाध्य छन् । खलंगामा १५ सय किलोवाट क्षामताको सौर्य ऊर्जा जडानका लागि कर्णालीका पूर्वकानुनमन्त्री नरेश भण्डारीले विद्युत प्राधिकरणसँंग पहल गरेका थिए ।