दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका लागि ९४ करोड

खोटाङ-बहुप्रतीक्षित ६ सय ६५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि सरकारले ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका हुन् । यो आयोजना निर्माणलाई सरकारले आगामी वर्ष प्राथमिकतामा राखेको बताएको छ ।
खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने दूधकोसीस्थित रभुँवाघाटमा निर्माण गर्न लागिएको आयोजनाका लागि जग्गा अधिग्रहण भइरहेको छ । आयोजना प्रभावित खोटाङ, ओखलढुंगा र सोलुखुम्बु तीन जिल्लाका गरी करिब २५ हजार रोपनी जग्गा अधिग्रहण हुने आयोजनाका उपनिर्देशक सीताराम प्रखाछेँले बताए । आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुंगाको नौ हजार रोपनी र सोलुखुम्बुको पाँच सय रोपनी जग्गा अधिग्रहण गरिनेछ । आयोजना सञ्चालनका लागि सरकारी जग्गाबाहेक करिब २० हजार रोपनी जग्गा अधिग्रहण हुने अनुमान छ ।
आयोजनाबाट तीन जिल्लाका एक हजार १ सय ५० घरधुरी प्रभावित हुने भएका छन् । खोटाङका ६ सय ५७, ओखलढुंगाका ४ सय ७९ र सोलुखुम्बुका १४ गरी एक हजार १ सय ५० घरधुरी प्रभावित हुने भएका हुन् । आयोजना निर्माण भएपछि वार्षिक तीन अर्ब ४४ करोड ३० लाख युनिट ऊर्जा उत्पादन हुनेछ । यसमध्ये हिउँदमा एक अर्ब ३५ करोड ८० लाख र वर्षायाममा दुई अर्ब आठ करोड ४० लाख युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजना निर्माणका लागि व्याजबाहेक एक खर्ब ५३ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
-पवन खड्का