Logo

अनुसन्धान गरेको मार्सीको उन्नत बिउ छुमचौरमा रोपियो

जुम्ला-कृषि अनुसन्धान केन्द्र जुम्लाले १२ वर्षदेखि अनुसन्धान गरेको रोगमुक्त कालीमार्सी धान रोपिएको छ । विश्वको अग्लो स्थानमा धान फल्ने स्थान छुमचौर ज्यूलोमा धानको बिउ किसानलाई वितरण गरी रोपिएको छ ।
बलाष्ट रोगले सताइरहेको समयमा कृषि अनुसन्धान केन्द्र जुम्लाले पातारासी गाउँपालिका–३ छुमचौर ज्यूलोमा लामो समयदेखि अनुसन्धान गरेको बिउ परीक्षणका लागि उन्नत जातको बिउ रोपिएको छ ।
परीक्षणका लागि विश्वकै अग्लो स्थानमा मार्सीधान उत्पादन हुने पातारासीको छुमचौर ज्युलोमा उन्नत मार्सीधानको बिउ रोपिएको कृषि अनुसन्धान केन्द्र जुम्लाका प्रमुख वरिष्ठ वैज्ञानिक रेशमबाबु अमागाईले बताए ।
कृषि अनुसन्धान केन्द्र जुम्लाले विगत १२ वर्षदेखि आफैले अनुसन्धान गरेको बिउको यस वर्षदेखि कृषकसम्म पु-याउनका लागि छुमचौर ज्यूलोमा रोगमुक्त उन्नत बिउ परीक्षणका लागि रोपिएको अमागाईले जानकारी दिए ।
जुम्ला पातारासी गाउँपालिका छुमचौर ज्यूलो विश्वकै अग्लो स्थान २८५० मिटर उचाईमा छ । सो स्थानमा कालीमार्सी धान उत्पादन हुन्छ । तर ब्लाष्ट रोग लाग्ने समस्याले मार्सीधानको उत्पादनमा गिरावट आउने गरेको थियो । वरिष्ठ वैज्ञानिक अमागाईका अनुसार छुमचौर ज्युलोमा रोपिएको बिउको परीक्षण सफल भएपछि आगामी वर्षबाट जिल्लाभर रोपिने छ ।
स्थानीय कमलसिंह बोहराका अनुसार धानमा रोग लाग्ने उत्पादन नहुने र असिना पानीले उत्पादन गिरावट हुँदै गएको छ । गत वर्ष पातारासी गाउँपालिकाले रोपाई महोत्सव गरेर रोपाई दिवस मनाएको थियो । गाउँपालिकाले सो क्षेत्रको घेरवारका लागि समेत डीपीआर बनाएको बताएको छ । यस पटक पनि जुम्लामा १५ जेठमा रोपाई दिवसका रुपमा मनाइएको छ । कालीमासी धान नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले रोगमुक्त कालीमार्सी बिउका लागि अनुसन्धान थालेको थियो । सो सफल भएपछि किसानको खेतमा समेत प्रयोगमा आएको छ ।
छुमचौरमा करिब १० हेक्टर जमिनमा धान फल्ने कृषि अनुसन्धान केन्द्र जुम्लाको अनुमान छ । त्यस क्षेत्रका नागरिक हरेक यो सिजनामा यार्सा गुम्वा टिप्न जाने भएकाले रोपाईमा कम प्रथामिकतामा परेको छ ।
नार्कले पछिल्लो समय कालीमार्सी १, ८, १८, २० र २२ रोगमुक्त बिउका लागि अनुसन्धान गरिएको उनले जानकारी दिए । अहिले जुम्लामा मार्सीधानको रोपाई भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्