साढे चार करोडको लागतमा चिल्ड्रेन पार्क

इलाम-बालबालिकाको मनोरञ्जनाका लागि इलाममा चिल्ड्रेन फनपार्क निर्माण भएको छ ।
इलाम नगरपालिका ७ इलाम बजारमा सो पार्क निर्माण भएको हो । इलाम नगरपालिकाले साढे चार करोड लगानी गरेर फनपार्क निर्माण गरेको हो । विशेष गरी बालबच्चाको मनोरञ्जनका लागि निर्माण भएको पार्कमा बालबालिकालाई घुमाएर वयस्कहरुले समेत रमाइलो गर्ने गरेका छन् । बालबालिकालाई खेल्नका लागि विभिन्न सामग्री निर्माण गरिएको छ ।
फनपार्कमा १४ वटा खेल्ने सामग्री र १६ वटा अन्य भौतिक वस्तु निर्माण गरिएको इलाम नगरपालिकाका इञ्जिनियर दिपक गुरागाईंले जानकारी दिए । उनका अनुसार शौचालय, पिलर अप लाईट, वालअफ नलेज, प्रवेशद्वार, टिकट काउन्टर, क्यान्टिन निर्माण गरिएको छ ।
फनपार्क ठेक्कामार्फत निर्माण भएको हो । पार्क निर्माण सम्पन्न गर्न चार करोड ५७ लाख ४१ नौ सय ७७ रुपैयाँको लागानी रहेको इलाम नगरपालिकाले जानकारी दिएको छ । नगर विकास कोषको तीन करोड ३५ लाख ३० हजार ऋण र इलाम नगरपालिकाको एक करोड २२ लाख फनपार्क निर्माणमा लगानी गरिएको छ ।
नगर विकास कोषले दुई वर्ष सुहलियतसहित २० वर्षमा साँवा ब्याज भुक्तानी गरिसक्नुपर्ने गरी ऋण उपलब्ध गराएको बताइएको छ । इलाम नगरपालिकाले नगर विकास कोषलाई पहिलो किस्ता बापत २४ लाख ४७ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । नगरपालिकाले ३६ किस्तामा कोषको सावा ब्याज भुक्तानी गरिसक्ने लक्ष्य राखेको छ । अन्तिम किस्तामा पुग्दा दश लाख ४३ हजार रुपैयाँ भुुक्तानी गर्नुपर्ने छ ।
यो रकमबाट निर्माण भएको फनपार्कमा विशेष गरेर बिदाका दिन बालबच्चाहरु खेल्न र रमाउन आउने गरेका छन् । फनपार्क निर्माण भएको जमिन आदर्श मावि इलामको हो । सोही जग्गामा नगरपालिकाले बनाएको फनपार्क पाँच वर्षसम्म इलाम नगरपालिकाले नै सञ्चालन गर्ने छ । त्यसपछि भने फनपार्कको सञ्चालन आदर्श माध्यमिक विद्यालयले गर्नेछ ।
आदर्श माविको तीन रोपनी तीन पैसा क्षेत्रफलमा निर्माण गरिएको फनपार्कको पाँच वर्षपछि आम्दानी समेत विद्यालयकै हुने बताइएको छ । नगर विकास कोषको ऋण भने नगरपालिकाले नै भुक्तानी गर्नु पर्दछ । फनपार्कबाट वार्षिक ४५ लाख ५६ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । त्यसको सञ्चालन र व्यवस्थापनको लागि २७ लाख ५८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । फनपार्कबाट वार्षिक १७ लाख ९८ हजार रुपैयाँ आम्दानी हुने नगरपालिकाको लक्ष्य छ ।