काठमाडौं महानगर हाँक्ने रथी

काठमाडौं महानगरपालिकाले यति बेला नयाँ जनप्रतिनिधि पाएको छ । भर्खरै शपथ खाएसँगै सम्पूर्ण जनप्रतिनिधि नियमित कार्यमा लागेको देख्न सक्छौं । महानगरका जनप्रतिनिधिहरूको पहिलो संयुक्त बैठकसमेत बसिसकेको छ । जसमा विभिन्न एजेन्डाहरू सर्वसम्मत पास भएका छन्, जसको प्रत्यक्ष प्रसारणसमेतको थालनी भएको छ जुन सराहनीय कार्यअन्तर्गत पर्छ । महानगरमा आम मतदाताले रुचाएका व्यक्ति नै महानगर प्रमुख तथा उपप्रमुखमा विजयी भएका छन् । त्यसमाथि स्वतन्त्र रूपमा उम्मेदवारी दिई देशकै ठूलो महानगरमा मेयर पदमा बालेन्द्र शाह (बालेन) विजयी हुनु नै सबैभन्दा ठूलो कुरा हो । त्यसैले उनको चर्चा–परिचर्चा सिंगो मुलुकले गरिरहेको छ ।
स्वतन्त्र रूपमा उम्मेदवारी दिई निर्वाचित हुने नगर प्रमुख उनी मात्र होइनन्, अन्य उम्मेदवारहरू पनि रहेका छन् । धरान उपमहानगरपालिकामा स्वतन्त्र रूपमा विजयी हर्कराज राईको चर्चा–परिचर्चा छ, त्योभन्दा बढी काठमाडौं महानगरपालिका स्वतन्त्र उम्मेदवारका विजयी बालेन्द्र शाह (बालेन) को छ । अन्य स्थानीय निकायमा पनि स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
राष्ट्रिय झन्डा फरफराउँदै चुनावी मैदानमा होमिएका बालेनको उदय भएको छ । उनको परिचय थपिएको छ । कला, प्राविधिक हुँदै महानगरको नेतृत्व तहमा पुगेको छ । दलहरूसँगको वितृष्णा बढ्दै जाँदा स्वतन्त्र उम्मेदवारीको उदय सम्भव भएको हो । उनी यतिबेला काठमाडौं महानगरको प्रमुख बनेसँगै जनतामा आशा–भरोसा थप पलाएको छ । उनी सिंगो महानगरलाई हाँक्ने महारथी बनेका छन् ।
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन, २०७९ अन्तर्गत काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७ सय ६७ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठलाई २३ हजार ४ सय २६ मतान्तरले पराजित गरेका हुन् । पराजित सिर्जना श्रेष्ठले ३८ हजार ३ सय ४१ मत ल्याएकी छन् । निकै लामो समय स्वतन्त्र उम्मेदवार बालेनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापित तेस्रो नम्बरमा परे भने उता उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की उम्मेदवार सुनिता डंगोल ६८ हजार ६ सय १२ मतसहित विजयी भएकी छन् । उपप्रमुख डंगोलले सर्वाधिक मत प्राप्त गरेको अवस्थामा प्रमुख पदका उम्मेदवारले उपप्रमुखले प्राप्त गरेको मतको करिब आधा मतको हाराहारीमा मात्र प्राप्त गरेका छन् । यसबाट यो बुझ्न जरुरी छ कि मतदाताले स्वाद फेर्न चाहेका छन् ।
नवनिर्वाचित जनप्रतिनिधिले निर्वाचनअगाडि घोषणा गरेका घोषणापत्रअनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा, पूर्वाधार विकास, कृषि, यातायात, सञ्चार, फोहोर, ढल निकास, धार्मिक क्षेत्र, परम्परागत शैलीलगायत विभिन्न क्षेत्रमा गरेका वाचा पूरा हुन्छ/हुँदैन, त्यसको अनुभूत गर्न बाँकी छ । जसरी सपना बाँड्न सफल हुन्छ, त्यसरी पूरा गर्न अर्को चुनौती थपिन्छ । जनताले विश्वास गरेर दिएको मतको सही सदुपयोग हुन्छ/हुँदैन, नागरिकले एक–एक हिसाब गर्नेछन् । नागरिकलाई बेकुप बनाउन खाजे कहिल्यै क्षम्य हुँदैन । नागरिकको जनभावनाअनुरूप कार्य गर्न सक्ने हो भने आगामी निर्वाचनमा प्रचारप्रसार आवश्यक पर्दैन, विगतका कार्य नै स्पष्ट हुन्छ ।