Logo

मिथिलाञ्चलमा हर्षोल्लासका मनाइयो वटसावित्री पर्व

विवाहित हिन्दु मैथिल नारीले जनकपुरमा वरसाइत हर्षोल्लासका साथ (वटसावित्री) पर्व मनाएका छन् । श्रीमान्को आयु र आफनो अटल सौभाग्यको कामना गर्दै महिलाहरुले वटसावित्री पर्व मनाउने परम्परा रहेको छ । सत्य युगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औंसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासको आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ ।
जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्ष (वरको रुख) फेदमा व्रतालु मिथिलानीले सामूहिकरुपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गरेर यो पर्व मनाउँछन् । व्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ । जनकपुरको राम मन्दिर सहितको विभिन्न स्थानहरुमा बिहानैदेखि पूजा गर्न महिलाहरुको भीड लागेको छ । महिलाहरुले व्रत पूजा गरी कथा सुनेर वरको वृक्षमा सूतीको धागो बाँध्ने गर्छन् । वरको बोटमा सूतीको धागो बाँध्नाले पतिको आयु बढ्ने जनविश्वास छ । विवाह भएको महिलाले पहिलो वर्ष विभिन्न विधि अनुसारले मनाउने गरेपछि । नवविवाहिता महिलाले पहिलो वरसाइत (विवाहपछि आउने पहिलो पर्व) अनिवार्य रुपमा श्रीमानकै घरमा मनाउनु पर्छ । अघिल्लो दिन नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि सोह्र श्रृंगार अर्थात् लगाउने लुगादेखि चुरासम्मका सबै शृंगार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ । बिहानै नुहाई रातो पहिरनमा नजिकको वर (वट) को रुखमुनि बसेर पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल, काँक्रो, केरा, स्याउ, अंगुर, आँप, लिचि र नरिवल प्रसादको रुपमा वरको जरामा चढाएर सिन्दुरले रङ्गाउँछन् । प्रसाद चढाइसकेपछि व्रतालुले वरको रुखमा सात फेरो पहेँलो र रातो धागोले बेर्दछन् । पतिव्रता सावित्रीले यही पर्व गरेर मृत पति सत्यवानलाई यमराजबाट फिर्ता गरेको धार्मिक मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्